Latest posts by रोशन तिवारी (see all)
पर्वत । सार्वजनिक धारालाई विस्थापित गर्दै पर्वतमा व्यक्तिगत धारा बन्न थालेका छन् । जिल्लाका गाउँगाउँमा ‘एक घर एक धारा’ अवधारणाअनुसार व्यक्तिगत धारा बन्न थालेका हुन् । जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अनुसार जिल्लामा अहिलेसम्म ८ हजार घरमा ‘एक घर एक धारा’को पहुँच पुगेको छ ।
मिटर सिष्टमअनुसार ती धारा जडान गरिएको हो । चालू आर्थिक वर्षमा थप २ हजार घरमा ‘एक घर एक धारा’ जडान गर्ने लक्ष्य रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख प्रेमप्रसाद डोटेलले जानकारी दिए । व्यक्तिगत धाराको संरक्षण गर्न व्यक्ति नै जिम्मेवार हुने र सार्वजनिक धाराको भने हिफाजत कसैले नगर्ने भएकोले सरकारले नै यो अवधारणा ल्याएको उनले बताए । पछिल्लो समय ‘एक घर एक धारा’ अभियान प्रभावकारी बनेको छ ।
सबैको पहुँचमा यो अभियानमार्फत खानेपानीको पहुँच पुर्याउने लक्ष्य रहेको डोटेलले बताए । यसैबीच चालू आर्थिक वर्षमा ५७ ओटा साना ठूला खानेपानी आयोजना निर्माणको चरणमा रहेको पनि उनले बताए । उनका अनुसार खानेपानीको चरम समस्या रहेका ग्रामीण क्षेत्रमा प्रायःजसो आयोजना कार्यान्वयन भएको छ । खानेपानी कार्यालयका अनुसार वारीवानीमा सहलगानीमा ठूलो खानेपानी आयोजना सञ्चालन भइरहेको छ । जुन आयोजना १२ करोडको लगानीमा केन्द्रीय कार्यक्रमबाट निर्माणाधीन छ ।
शङ्करपोखरीमा २४ करोडको आयोजना टेण्डर आह्वान गर्ने चरणमा रहेको छ । फलेवास देवीस्थानमा १ हजार ५ सय घरधूरीमा खानेपानीको व्यवस्था गर्ने गरी १५ करोडको बृहत् आयोजना सञ्चालन हुँदै छ । रानीपानी र बर्राचौरमा लिसेगैरा खानेपानी आयोजनाको काम हालै शुरू गरिएको छ । ‘हाल पर्वतका ९२ दशमलव ५ प्रतिशत नागरिकमा खानेपानीको पहुँच पुगेको छ,’ उनले भने, ‘हामी चालू आर्थिक वर्षमा शत प्रतिशत पहुँच पुग्ने गरी काम गरिरहेका छौं ।’ लिफ्ट प्रविधिमार्फत खानेपानी आयोजना पनि केही ठाउँमा सञ्चालनमा
आएका छन् ।


