काठमाडौं (अस) । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बैङ्क तथा वित्तीय संस्थाहरूलाई भूकम्पपीडितहरूले लिन ऋणका विषयमा जानकारी दिन सक्ने गरी वडापत्र कार्यालयमा राख्न आग्रह गरेको छ । भूकम्पपीडितहरू सरकारले उपलब्ध गराएको सहुलियत तथा निब्र्याजी ऋण लिन समस्या भएको भन्दै प्राधिकरणले सम्बन्धित बैङ्क तथा वित्तीय संस्थाहरूलाई सम्पूर्ण जानकारीसहित वडापत्र बनाएर कार्यालयमा झुण्ड्याउन आग्रह गरेको हो ।
प्राधिकरणले नेपाल राष्ट्र बैङ्क, नेपाल बैङ्कर्स एशोसिएशनका अधिकारीहरूसँग छलफल गरी यस्तो प्रावधान अनिवार्य रूपमा राख्न आग्रह गरेको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले भूकम्पपीडितहरूको अवस्थालाई विचार गरी लचक भएर ऋण प्रवाह गर्न आग्रह गरे । उनले भने, ‘निब्र्याजी तथा सहुलियतका ऋण लिनका लागि भूकम्पपीडितले केकस्ता कागजात ल्याउनु पर्ने हो त्यससम्बन्धी जानकारी भएको वडापत्र बनाएर कार्यालयमा झुण्डाउने तथा पर्चा बनाएर जानकारी दिने व्यवस्था गर्नु अपरिहार्य छ ।’
यस्तै, नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले आवश्यक प्रक्रियाका साथै कागजात पु¥याएर ऋण लिन आएमा सबै बैङ्क तथा वित्तीय संस्थाले ऋण उपलब्ध गराउनु पर्र्नेमा जोड दिए । उनले सबै बैङ्कले आफ्ना सबै शाखामा पठाउन वाणिज्य तथा विकास बैङ्कहरूका सङ्गठनका प्रमुखहरुलाई आग्रह गरे । अर्थ मन्त्रालयका सहसचिव रामशरण पुडासैनीले सञ्चालन खर्चको एउटा मापदण्ड तयार गरी निब्र्याजी ऋणलाई छिटो अगाडि बढाउनु पर्नेमा जोड दिए ।
सो छलफलमा नेपाल बैङ्कर्स एशोसिएशनका अध्यक्ष तथा नेपाल बङ्गलादेश बैङ्कका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले आवश्यक सबै कागजात पुर्याए भूकम्पपीडितलाई सहुलियत ब्याजको ऋण दिन कुनै समस्या नभएको दाबी गरे । उनले कुनै बैङ्कको शाखाले त्यस्तो ऋण दिन आनाकानी गरेको भए जानकारी दिन पनि आग्रह गरे । निब्र्याजी ऋण प्रवाह गर्दा बैङ्कहरूले पाउने भनिएको सञ्चालन खर्चको परिभाषा स्पष्ट नभएका कारण उक्त ऋण प्रवाह गर्न समस्या रहेको उनले बताए ।
विकास बैङ्कहरूको सङ्गठन डेभलपमेण्ट बैङ्कर्स एशोसिएशनका अध्यक्ष तथा देवः विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत विजय श्रेष्ठले पनि निब्र्याजी ऋण प्रवाह गर्दा बैङ्कहरूले पाउने सञ्चालन खर्चको दर प्रष्ट पार्न जोड दिए । सरकारले आर्थिक वर्ष २०७३/७४ को वार्षिक आयव्यय कार्यक्रममा भूकम्पपीडितलाई रू. ३ लाखसम्म घर निर्माणका लागि निब्र्याजी ऋण दिने व्यवस्था गरेको छ ।




