सिन्धुली । सरकारी कार्यालयको बीचमा समन्वय हुन नसक्दा लाखौंको आयोजना अलपत्र परेको छ । विद्युत् प्राधिकरण, सडक विभाग र वन कार्यालयबीच कुरा नमिल्दा विद्युत् प्राधिकरणको लाखौंको लगानीमा निर्माण भएको विद्युत् प्रसारणलाइन अलपत्र परेको छ ।
आठौं विद्युतीकरणअन्तर्गत निर्माण भएको विद्युत् विस्तारलाइनको पोल गाडेको ८ वर्ष बितिसकेको भए पनि हालसम्म सो प्रसारणलाइनले पूर्णता पाउन सकेको छैन । ३५ लाख रुपैयाँको लागतमा निर्माण गर्न लागिएको साढे ३ किलोमिटर लामो ११ केभी प्रसारणलाइनको पोल गाडिएको छ । तर, वन कार्यालयले रुख काट्ने अनुमति नदिएकाले योजना अलपत्र परेको विद्युत् प्राधिकरण शाखाले जानकारी दिएको छ ।
आर्थिक वर्ष २०६५/६६ मा निर्माण सम्पन्न हुनुपर्ने योजना भए पनि पोलिङ गरी तार टाँगिएको अधिकांश वन क्षेत्र भएकाले समस्या परेको हो । ठेकेदार कम्पनी वा प्रोजेक्टले सरकारको स्वीकृतिअनुसार काम गर्ने हुँदा प्राधिकरणको सम्बन्धित जिल्ला कार्यालय र वन कार्यालयसँग कुनै सहकार्य गर्नुपर्ने बाध्यात्मक व्यवस्था नभएका कारण पनि समस्या उत्पन्न भएको विद्युत् प्राधिकरण सिन्धुली शाखाका प्रमुख खिलनाथ अर्यालले बताए ।
उनका अनुसार पोलिङ गरिएको क्षेत्रमा करीब १ सय २५ ओटा रुख काट्नु पर्नेछ । सो क्षेत्रमा पर्ने अधिकांश रुखहरू बीपी राजमार्गको ३१ मिटर क्षेत्रभित्र पर्ने भएकाले सडक विभागले पनि केही पहल गरेमा विद्युत् विस्तारका क्षेत्रमा टेवा पुग्ने अर्यालले बताए ।
हाल पोलिङ गरिएको क्षेत्रबाट ३३ केभी विद्युत् लाइनमार्फत सीधै घरायसी विद्युत् उपभोग गरिरहेका जनताको विद्युतीय सुरक्षामा ठूलो टेवा पुग्ने अर्यालको भनाइ छ । ३३ केभी विद्युत् प्रसारणलाइनबाट विद्युत् उपभोग गरिरहेको क्षेत्रमा ११ केभीको प्रसारणलाई विस्तार गर्दा प्राधिकरणको मर्मत खर्च पनि ५० प्रतिशतले कमी आउने उनले बताए ।
उक्त लाइनले धनुषाको तुलसी गाविसको वडा नं. ६, ७, ८, ९ र महोत्तरीको वर्दिवास नगरपालिकाको वडा नं. ९ का ३ गाउँ गरी ९ ओटा ट्रान्सफर्मरमार्फत २ हजार घरपरिवार र करीब १ दर्जन उद्योगहरूमा सेवा प्रभाव गर्ने प्राधिकरणको तयारी छ । यता, जिल्ला वन कार्यालयका जिल्ला वन अधिकृत नवीन गिरी भने विद्युत् प्राधिकरणले अहिलेसम्म यस विषयमा कुनै पनि लिखित वा मौखिक छलफल नचाएकाले कसरी अगाडि जाने भन्न नसकिने बताए ।




