काठमाडौं (अस) । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय कम्पनीमा रू. १ अर्ब ९१ करोड ९९ लाख लगानी गर्ने भएको छ । केन्द्रीय बैङ्कले बैङ्क तथा वित्तीय संस्थामा आफ्नो विभिन्न कोषमा रहेको रकम १ वर्षे मुद्दती निक्षेपको रूपमा लगानी गर्न लागेको हो । राष्ट्र बैङ्कले उक्त रकम २०७४ फागुन २ गतेदेखि २०७५ माघ २९ गतेसम्मका लागि मुद्दती निक्षेपका रूपमा राख्न लागेको हो ।
केन्द्रीय बैङ्कले वाणिज्य बैङ्कहरूमा रू. १ अर्ब ५३ करोड ५९ लाख मुद्दती निक्षेपका रूपमा लगानी गर्ने भएको छ । यसैगरी राष्ट्रिय स्तरका विकास बैङ्कमा रू. २८ करोड ८० लाख र वित्त कम्पनीमा रू. ९ करोड ६० लाख मुद्दती निक्षेपको रूपमा लगानी गर्न लागेको हो । उक्त लगानीका लागि तोकिएका बैङ्क तथा वित्तीय संस्थाले आगामी माघ १९ गते शुक्रवार दिउँसो १ बजेभित्र नेपाल राष्ट्र बैङ्क वित्त व्यवस्थापन विभाग बालुवाटारमा पेश गर्नुपर्ने छ ।




