अमेरिकी कम्पनी एप्पलले सन् २०१७ को अन्तिम ३ महीनामा २ करोड ९० लाख एकाइ ‘आईफोन एक्स’को विक्री गरेको छ । सिङ्गापुरमा रहेर अनुसन्धानको क्षेत्रमा काम गरिरहेको क्यानालिसले सार्वजनिक गरेको विवरणअनुसार अघिल्लो वर्षको अन्तिम ३ महीनामा आईफोन एक्सको उल्लेख्य व्यापार गरेको देखिएको हो ।
क्यानालिसले बिदाको समयमा पनि आईफोन एक्स सबैभन्दा बढी विक्री हुने स्मार्टफोन बन्न सफल रहेको बताएको छ । सन् २०१७ को अन्तिम ३ महीनामा विक्री भएकामध्ये ७० लाख स्मार्टफोन चीनमा निर्यात गरिएको थियो ।
आईफोनको प्रदर्शन निकै आकर्षक रहेको भए पनि यसअघि गरिएको आकलनको तुलनामा भने यो नतीजा निकै कमजोर रहेको बताइएको छ । गएको नोभेम्बर महीनामा आफ्नो उक्त स्मार्टफोनको निर्यातमा केही समस्या देखिएको भए पनि नोभेम्बर र डिसेम्बर महीनामा देखिएको उत्पादनको सुधारको कारण समग्र विक्रीको नतीजा उल्लेख्य रहेको देखिएको हो । यसले बजारमा देखिएको अत्यधिक माग पनि धानेको थियो ।
विश्लेषकहरूले सन् २०१८ को शुरुआती ३ महीनामा कम्पनीले यो उत्पादन १ करोड ८० लाख एकाइ स्मार्टफोन विक्री गर्ने आकलन गरेका छन् । क्यानालिसले सार्वजनिक गरेको विवरणमा उक्त अवधिमा आईफोन एसई, ६एस, ७ र ८ मोडलका उत्पादनको व्यापारमा पनि उल्लेख्य सुधार आएको देखिएको छ । नयाँ मोडलको मूल्य अत्यधिक रहेको कारण पनि पुराना मोडलको व्यापार बढेको विश्लेषकहरूले बताएका छन् । आईफोन एक्सको समग्र मोडलको व्यापार ६ करोड २० लाख एकाइ हुन सक्ने अनुमान छ ।




