काठमाडौं (अस) । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुरलाई शिक्षा र पर्यटनको केन्द्र बनाउन भक्तपुरका जनता निरन्तर रूपमा लागिपरेको बताएका छन् । भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप माविको १८औं, ख्वप कलेजको १६औं र शारदा क्याम्पसको २७औं वार्षिकोत्सव तथा शैक्षिक प्रदर्शनीको अवसरमा आयोजित कार्यक्रममा उनले सो धारणा राखेका हुन् । सीमित साधनस्रोत तथा भौतिक अवस्थाका बीच जनताको समर्थन र जनप्रतिनिधिको बलियो इच्छाशक्तिका कारण अहिलेको स्थितिसम्म आइपुगेको र यसलाई प्रमुख गन्तव्य बनाउन अझै लागिपर्नुपर्ने उनको भनाइ छ ।
प्रतिनिधिसभा सदस्य प्रेम सुवालले भक्तपुरलाई शिक्षाको केन्द्र, पर्यटकीय गन्तव्यस्थल र सफा नगर बनाउन भक्तपुर नगरवासीको चाहना अध्ययन पूरा गरेका विद्यार्थीले सहयोग गर्नुपर्ने बताए । अध्ययन–अनुसन्धानमा जोड दिने उद्देश्यले ख्वप विश्वविद्यालय स्थापनाका लागि भक्तपुरका जनता निरन्तर लागिरहने पनि उनले जानकारी दिए । नेमकिपाका सचिवसमेत रहेका सुवालले प्रगतिशील कर प्रणाली लागू गर्नुपर्ने, कर प्रशासन प्रभावकारी बनाउनुपर्ने र महँगी नियन्त्रणमा सरकारले जोड दिनुपर्ने धारणा राखेका थिए ।
भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापतिले भनपाद्वारा सञ्चालित शैक्षिक संस्थाले सस्तोमा गुणस्तरीय शिक्षा हासिल गर्ने अवसर प्रदान गरेको दाबी गरे । कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्याल, शिक्षाशास्त्र सङ्कायका पूर्व डीन प्रा. पृथुचरण वैद्य, भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, भनपाका उपमेयर रजनी जोशी, सेवानिवृत्त सहायक रथी प्रेमसिंह बस्न्यात, जलस्रोत अभियन्ता रतन भण्डारीलगायतले कलेजको योगदानको प्रशंसा गरेका थिए ।




