फागुन १, काठमाडौं । इन्टरनेशनल मोबाइल इक्युपमेण्ट आइडेण्टिटी (आईएमईआई) नम्बर अब अनलाइनबाटै दर्ता गर्न सकिने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले मङ्गलवारदेखि मोबाइल सेटको आईएमईआई दर्ता घरबाटै गर्न सकिने व्यवस्था गर्न लागेको हो ।
मोबाइल आयातकर्ताहरूले यस्तो आईएमईआई नम्बर फोन आयात गर्नुभन्दा अगाडि नै प्राधिकरणमा दर्ता गरेर मात्र आयात गर्न पाउने व्यवस्था गरिएको छ । यसको साथमा टाइप अप्रुभलको कागजपत्र पनि आवश्यक पर्ने प्राधिकरणले जानकारी दिएको छ । व्यक्तिगत रूपमा प्रयोगकर्ता आफैंले बाहिरी मुलुकबाट किनेर वा उपहारमा ल्याएका मोबाइल फोनको पनि आईएमईआई नम्बर दर्ता गर्नुपर्ने हुन्छ । यस्ता सबै फोनको दर्ताका लागि अब प्राधिकरण भने गइरहनु पर्दैन ।
भन्सार छली रोक्न, चोरी तथा आपराधिक कार्यलाई निरुत्साहित गर्न र हराएको अवस्थामा प्रहरीलाई खोज्न सहयोग पुर्याउने उद्देश्यले प्राधिकरणले २०७३ वैशाखदेखि आइएमईआई दर्ता शुरु गरेको थियो । मङ्गलवारदेखि व्यक्तिगत वा संस्थागत रूपमा आइएमईआई दर्ता गर्न सकिने प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए । ‘आईएमईआई नम्बर दर्ता भएपछि ‘ग्रे मार्केट’ नियन्त्रण हुने र हराएको अवस्थामा पनि प्रहरीलाई खवर गर्न र भेट्न सजिलो हुने छ,’ उनले भने । हालसम्म प्राधिकरणले मोबाइलको आईएमईआई नम्बर कार्यालयबाट मात्र दर्ता गर्दै आएको थियो ।
प्राधिकरणको तथ्याङ्कअनुसार हाल मासिक ४ लाख ४२ हजार ह्याण्ड सेटको आईएमईआई दर्ता हुने गरेको छ । २०७३ सालमा व्यावसायिक रूपमा १ करोड र व्यक्तिगत रूपमा ४ हजारभन्दा बढी मोबाइल सेटको आईएमईआई दर्ता गरिएको थियो । २०७४ माघ अन्तिमसम्ममा व्यावसायिक रूपमा ८६ लाख र व्यक्तिगत रूपमा १ हजार मोबाइलको आईएमईआई दर्ता भएको छ ।
यसरी गर्न सकिन्छ अनलाइनबाट दर्ता
मोबाइल आयातकर्ता आफैंले ईआईआर डट जीओभी डट एनपीमार्फत आईएमईआई नम्बर दर्ता गर्न सक्नेछन् । जसका लागि आयातकर्तालाई युजर नेम र आईडी दिइने छ ।
आईएमईआई नम्बर दर्ता नभएमा के हुन्छ ?
‘आईएमईआई नम्बर दर्ता नभएका मोबाइल सेट ब्लक हुन्छ,’ प्रवक्ता अर्यालले भने, ‘ईआईआर स्टाइल नियमावली कार्यविधिको तयारी अन्तिम चरणमा पुगिसकेको छ, नियमावली बनिसकेपछि आईएमईआई नम्बर दर्ता नभएका मोबाइल सेट ब्लक गरिन्छ ।’ ग्लोबल डाटाबेस लागू भएपछि आईएमईआई नम्बर दर्ता नभएका मोबाइल भन्सारमै रोकिने उनको भनाई छ । यसका लागि सम्बन्धित भन्सार कार्यालयलाई उक्त सफ्टवेयर सञ्चालनको पहुँच दिइने छ । यसबाट भन्सार कार्यालयले आयातकर्ताले ल्याउन लागेको मोबाइल ठिक छ वा छैन जाँच गर्न सक्छन् । यदि आईएमईआई दर्ता नभएका वा नक्कली नम्बर भएका मोबाइल ल्याउन लागेमा भन्सार मै रोकिने छ ।
के हो आईएमईआइ नम्बर ?
यो हरेक मोबाइल सेटमा हुने ‘युनिक नम्बर’ हो । आफ्नो मोबाइलमा रहेको आइएमईआई नम्बर थाहा पाउनका लागि ‘एस्ट्रिक ह्यास शून्य छ ह्यास’ डायल गर्नुपर्छ । जति ओटा सिम लाग्ने मोबाइल सेट हुन्छ त्यति नै ओटा आईएमईआई नम्बर हुन्छन् ।











