प्रमुख गतिविधि
कम्पनीले भदौ सम्पन्न वार्षिक साधारणसभाले प्रस्ताव गरेबमोजिमको १६० प्रतिशत हकप्रद शेयर विक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । साथै, उसले २०७४ असार मसान्तमा कायम चुक्ता पूँजीको ३२ दशमलव ५ प्रतिशत बोनस शेयर र सो बोनसमा लाग्ने कर प्रयोजनका निम्ति आवश्यक नगद लाभांश दिन प्रस्ताव गरेको छ । यद्यपि, १६० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रक्रिया रहेकोले हकप्रद शेयरका आवेदकले समेत उल्लिखित बोनस शेयर प्राप्त गर्ने भएकोले उक्त बोनस शेयरको प्रतिशत समायोजन भई १२ दशमलव ५० प्रतिशत हुने बताइएको छ ।
कम्पनीको सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दा :
- कम्पनी चालू आर्थिक वर्ष २०७४/७५ को दोस्रो त्रैमासमा खुद मुनाफा २१९ प्रतिशत वृद्धि गरी ११ करोड ५१ लाख रुपैयाँ कमाउन सफल भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ६१ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।
- पूँजीमा २५ प्रतिशत वृद्धि हुँदा पनि प्रतिशेयर आम्दानी वृद्धि गर्दै लैजान सक्नु कम्पनीको सकारात्मक पक्ष हो । यो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३७ दशमलव ७६ रुपैयाँ पुगेको छ ।
- जगेडा ३६ प्रतिशत वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा ६८ करोड ८२ लाख जगेडा यो त्रैमासमा वृद्धि भएर ९३ करोड ४१ लाख पुगेको छ ।
- जीवन बीमा कोषमा ३३ प्रतिशत वृद्धि गरेर ५ अर्ब ५७ करोड रुपैयाँ तथा महाविपत्ति कोषमा ८ करोड २२ लाख रुपैयाँ सञ्चित गरेको छ ।
- कुल बीमा शुल्क आर्जन रकम २१ प्रतिशत वृद्धि भएर १ अर्ब २ करोड २६ लाख पुग्दा खुद बीमा शुल्क आम्दानी गत त्रैमासभन्दा २२ प्रतिशत वृद्धि भएर ९३ करोड ३५ लाख पुगेको छ ।
- यस त्रैमाससम्ममा कुल दाबी भुक्तानी रकम १४ प्रतिशत कम भएर १५ करोड ६६ लाख छ । त्यस्तै, खुद दाबी भुक्तानी ११ करोड ८१ लाख छ । अघिल्लो आर्थिक वर्षभन्दा यो २२ प्रतिशत कम हो ।
- कुल दाबी भुक्तानी सङ्ख्या ६ सय ८ छ भने भुक्तानी हुन बाँकी दाबी सङ्ख्या ५१ छ ।
- दोस्रो त्रैमासमाप्रति शेयर आम्दानी ३७ दशमलव ७६ रुपैयाँ, प्रतिशेयर नेटवर्थ २ सय ६६ दशमलव ५६ रुपैयाँ र प्रतिशेयर कुल सम्पत्तिको मूल्य १ हजार ३ सय १४ दशमलव ३ रुपैयाँ छ ।

निष्कर्ष
समीक्षा अवधिमा कम्पनीको बीमा शुल्क आर्जन रकमका साथै खुद मुनाफामा समेत उच्च वृद्धि भएको देखिन्छ । पूँजी वृद्धिसँगै व्यवसाय विस्तार गर्दै प्रतिशेयर आम्दानी वृद्धि गर्न सक्नु कम्पनीको सकारात्मक पक्षको रूपमा छ । यद्यपि, पूँजी वृद्धिका लागि हालै जारी गर्न अनुमति पाएको १६० प्रतिशत हकप्रदपछि कम्पनीलाई प्रतिशेयर आम्दानी र लाभांश सन्तुलन गर्न केही चुनौती थपिने देखिन्छ ।
प्राविधिक विश्लेषण : प्राइम लाइफ बढ्न सङ्घर्ष गर्दै

प्रतिरोध २ : १८०० । प्रतिरोध १ : १७३० । अन्तिम कारोबार मूल्य : १६९० । टेवा १ : १६५० । टेवा २ : १६३०
बजारको अवस्था
९ महीनायता घट्दो प्रवृत्तिमा रहेको प्राइम लाइफ इन्स्योरेन्स हालको अवस्थामा बढ्न सङ्घर्ष गर्दै आएको छ । केही हप्तायता प्राइम इन्स्योरेन्सको शेयरमूल्यले टेवा माथि माथि बनाउँदै आएको छ भने प्रतिरोध पनि माथि माथि बन्दै आएको छ । सोमवार यस इन्स्योरेन्सको शेयरमूल्य १० रुपैयाँ अर्थात् शून्य दशमलव ५९ प्रतिशत घटेर १ हजार ६ सय ९० रुपैयाँमा बन्द भएको छ भने यस कम्पनीको ३ हजार २ सय ६४ कित्ता शेयर कारोबार भएको छ ।
मुभिङ एभरेज
पाँचदिने र २१ दिने मुभिङ एभरेजअनुसार प्राइम लाइफ इन्स्योरेन्सको शेयरमूल्य बढ्दो प्रवृत्तिमा छ ।
एडीएक्स
एडीएक्स सूचकअनुसार यस कम्पनीको शेयरमूल्य बढ्दो प्रवृत्तिमा छ । एडीएक्स सूचकको नकारात्मक सूचक सकारात्मक सूचकभन्दा माथि रहेको हुनाले घट्दो प्रवृत्तिमा रहेको हो ।
एटीआर
एटीआर सूचक प्रवृत्तिहीन अवस्थामा रहेको हुनाले यस कम्पनीको शेयरमूल्यको उतारचढाव सामान्य रहेको देखाउँछ ।
निष्कर्ष
विभिन्न प्राविधिक सूचकहरूले यस कम्पनीको शेयरमूल्य बढ्दो प्रवृत्तिमा रहेको बताएको छ । तर, २ दिनयता शेयरमूल्य घट्दो क्रममा रहेको हुनाले बजारले कुन बिन्दुमा टेवा लिन्छ । बढ्न शुरू भएपछि लगानी गर्दा जोखीम कम हुने बताएको छ ।











