फागुन ४, काठमाडौं (अस) । राष्ट्रिय बीमा संस्थानको चालू आर्थिक वर्षको ६ महीनासम्म चुक्तापूँजी रू. १८ करोड १० लाख पुगेको छ । संस्थानले गत वर्षको सोही अवधिको तुलनामा चुक्तापूँजी १९ गुणाले वृद्वि गरेको हो । गत वर्षको यसै समयमा संस्थानको रू. ९३ लाख मात्र चुक्तापूँजी रहेको थियो । संस्थानका प्रशासन तथा सञ्चालक सुरेन्द्र थापाले विगत लामो समयदेखि पूँजीकरण गर्न नसकिएको रू. १२ करोड पूँजीलाई यस वर्ष पूँजीकरण गरी सोही पूँजीको आधारमा कात्तिक १७ गते सम्पन्न तीसौं वार्षिक साधारण सभाले पारित गरेको ४२ दशमलव ११ प्रतिशत बोनस शेयरबाट पूँजी वृद्वि भएको जानकारी दिए ।
पूँजीकरण र बोनस शेयर पछि भने संस्थानको जगेडा कोष रकम ४९ प्रतिशत कम भएको छ । पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार रू. १६ करोड २३ लाख ७० हजार जगेडा कोष रहेको संस्थानको जीवन बीमा कोष रकम भने गत वर्षको तुलनामा २० दशमलव ३५ प्रतिशत वृद्वि भई रू. १४ अर्ब ४९ करोड ७० लाखभन्दा बढी पुगेको छ ।
यो ६ महीनामा संस्थानले रू. १ करोड २३ लाख ५२ हजार नाफा आर्जन गरेको छ । गत वर्ष यस अवधिमा रू. ३६ लाख ६९ हजार मात्र नाफा गरेको संस्थानले यस वर्ष ३ गुणा नाफा बढाएको हो । कम्पनीले पुस मसान्तसम्म रू. ४ अर्ब ३६ करोड ७२ लाखभन्दा बढी दीर्घकालिन लगानी तथा कर्जा प्रवाह गरेको छ भने रू. १ अर्ब १८ करोड ९ लाखभन्दा बढी बीमालेख धितोमा कर्जा उपलब्ध गराएको छ । संस्थानले विगतका वर्षहरुमा आर्थिक वर्ष २०७१÷७२ को प्रोभिजनल वित्तीय विवरणको आधारमा तयार गर्ने गरेको र यस वर्ष भने वास्तविक तथ्याङ्कको आधारमा तयार गरेको जानकारी दिएको छ ।
यस अवधिमा रू. १ अर्ब ५९ करोड ५१ लाख ५४ हजार खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले रू. १ अर्ब २४ करोड ४५ लाख २४ हजार खुद दाबी भुक्तानी गरेको छ ।




