फागुन ५, चितवन (सूर्यप्रसाद अधिकारी) । भारतबाट हुने कुखुरा, चल्ला, अण्डाको अवैध आयातले चितवनका पोल्ट्री व्यवसायी चिन्तित भएका छन् । भारतको उत्तर प्रदेशलगायत विभिन्न ठाउँमा बर्डफ्लु आएकासँगै अवैधरूपमा कुखुरा, मासु र अण्डा नेपाल भित्रिएका कारण उनीहरू चिन्तामा परेका हुन् । नेपाल पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष डा. होमबहादुर बस्नेत खुला सिमानाका कारण कुखुरा भित्रिँदा स्थानीय व्यसायी विस्थापित हुने खतरा बढेको बताउँछन् । भर्खरै आत्मनिर्भर भएको यो व्यवसायमा भारतबाट चोरी निकासी हुँदा सिङ्गो व्यवसाय नै धरापमा परेको उनको भनाइ छ ।
अहिले सिमानामा पशु चेकजाँच क्वारेण्टाइन कार्यालय, प्रशासन र सुरक्षा निकायको समन्वयमा चोरी निकासी नियन्त्रण गर्न प्रयास गरे पनि प्रभावकारी नभएको उनको तर्क छ । राज्यले कडा नीति तथा कानून ल्याई नियमित चेकजाँच गरी नियन्त्रण गर्न सकेमात्र यो व्यवसाय स्थापित हुनसक्ने पोल्ट्री व्यवसायीको भनाइ छ । चोरी निकासी नियन्त्रण गर्न राज्य पक्षले प्रभावकारी कार्यक्रम सञ्चालन नगरेको पोल्ट्री व्यवसायीको गुनासो छ ।
नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलले भारतबाट बर्डफ्लु लागेका कुखुरा भित्रिँदा नेपालमा रोगको सङ्क्रमणको खतरा बढेको बताउँछन् । भारतबाट सस्तोमा भित्रिएका कारण स्थानीय उत्पादनले बजार नपाएको र किसान एवम् व्यवसायीको लागत मूल्य नउठ्दा उनीहरू झनै चिन्तित बनेका छन् । नेपाल ≈याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोख्रेलले नेपालका सबै बोर्डरबाट बस, ट्रक, मोटरसाइकलबाट लुकाइछिपाइ कुखुराजन्य पदार्थ सस्तोमा भित्रिएका कारण यहाँको बजार खस्किँदै गइरहेको बताउँछन् ।
वीरगञ्ज क्वारेण्टाइन कार्यालयका प्रमुख वरिष्ठ चिकित्सक डा. हरेराम यादव आफ्नो तर्फबाट चोरी निकासी नियन्त्रणको लागि भरपुर संयन्त्र प्रयोग भई नियन्त्रणको लागि प्रयास भैरहेको बताउँछन् ।
नेपालमा कुल गार्हस्थ उत्पादनको करीब ४ प्रतिशत हिस्सा पोल्ट्री व्यवसायले ओगटेको छ । नेपालमा दैनिक ८ लाख केजी मासु उत्पादन हुँदै आएको छ भने दैनिक २२ लाख गोटा अण्डा उत्पादन हुने गरेको छ । देशको कुल पोल्ट्रीजन्य उत्पादनमध्ये चितवनले मात्रै ६० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ । यस क्षेत्रमा ८० अर्बभन्दा बढी लगानी छ । यस क्षेत्रमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा १ लाख ५० हजारले रोजगारी पाएका छन् ।



