फागुन ५, तिलोत्तमा । रूपन्देहीको तिलोत्तमा–९, मङ्गलापुरमा वाटर पार्क सञ्चालनमा आएको छ । वाटर पार्क काठमाडौंबाहिरको पहिलो भएको लगानीकर्ताको दाबी छ । औद्योगिक र व्यापारिक ‘हब’ बन्दै गएको रूपन्देहीमा जलपर्यटन व्यवसायमा पनि लगानी भएको हो ।
७ वर्ष कोरिया बस्दा वाटर पार्कमै काम गरेर अनुभव बटुलेका कृष्ण खनालको ‘अवधारणा’अनुसार लुम्बिनी हेल्थ वाटर किङ्डममार्फत ३ वर्षअघि वाटर पार्क निर्माणको काम शुरु भएको थियो । ६० जनाको साढे २ करोड रुपैयाँ लगानीमा ४४ कट्ठा क्षेत्रफलमा यो वाटर पार्क सञ्चालनमा ल्याइएको खनालले जानकारी दिए । वाटर पार्क यस क्षेत्रमै नौलो भएकाले लगानी अझै बढ्ने कम्पनीका अध्यक्ष गोपालबहादुर पोखरेलले बताए ।
वाटर पार्कमा बालबालिका, युवायुवतीदेखि जुनसुकै उमेरका व्यक्ति रमाउन सक्ने उनको भनाइ छ । हाल पार्कमा दुईओटा स्लाइडर पुल (पोखरी), एउटा वेभ (छाल) पूल र एउटा टाइड्स (बच्चाको) पुल सञ्चालनमा आइसकेका छन् । पार्कको बीचमा रेष्टुराँसहितको वाटर बोटिङका लागि पोखरी खन्ने काम अन्तिम चरणमा पुगेको खनालले जानकारी दिए ।
यो वाटर पार्कमा एकपटकमा १ हजार जनाले सेवा लिन सक्ने अध्यक्ष पोखरेलले बताए । वाटर पार्कभित्र पुरुष र महिलाका लागि छुट्टाछुट्टै स्थान र सुरक्षा गार्ड, सेफ्टी टिचरको व्यवस्थासमेत गरिएको उनको भनाइ छ ।
पार्कभित्रै शुद्ध शाकाहारी रेष्टुराँ पनि सञ्चालनमा ल्याउन लागिएको अध्यक्ष पोखरेलले बताए । वाटरपार्कको सञ्चालक समितिमा विभिन्न व्यावसायिक क्षेत्रमा सफलता हासिल गरेका सात उद्यमी छन् । वाटर पार्कमा २० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।




