फागुन ७, काठमाडौं (अस) । अमेरिकामा अर्को जर्मन अटो निर्माता कम्पनीले पनि उत्सर्जन घोटाला गरेको छ । सवारीको उत्सर्जन परीक्षणमा छेडखानी गरेको भन्दै अमेरिकी अधिकारीहरुले बहुराष्ट्रिय अटो निर्माता कम्पनी डेम्लर एजीमाथि अनुसन्धान गरिरहेका छन् ।
जर्मनीको साप्ताहिक पत्रिका बिल्ट आम जोन्टाकले आइतवार अमेरिकी अनुसन्धाताहरुको गोप्य दस्तावेजलाई उद्धृत गर्दै यस्तो समाचार लेखेको हो । समाचारअनुसार डिजेल कारको उत्सर्जन परीक्षण पास गर्न कम्पनीले कारमा कम उत्सर्जन देखाउने सप्mटवेयर जडान गरेको छ ।
सन् २०१५ मा जर्मन अटो निर्माता कम्पनी फक्सवागन एजीले अमेरिकामा करीब ६ लाख थान सवारीमा उत्सर्जन घोटाला गरिएको स्वीकार गरेको थियो । त्यसयता डिजेल इञ्जिन भएका सवारीको अमेरिकामा मात्रै होइन यूरोप र केही एशियाली देशमा पनि कठोर जाँच हुन थालेको छ । उत्सर्जन घोटालाको क्षतिपूर्तिका लागि कम्पनी उल्लेख्य रकम जरिवाना तिर्नुपर्ने र सवारी फिर्ता बोलाउँदा पनि उत्तिकै खर्च गर्नुपर्ने अनुमान गरिएको छ ।
अनुसन्धानका क्रममा अमेरिकी अनुसन्धाताहरुले डेम्लर कारमा २६ किमि गुडेपछि उत्सर्जन कम देखाउने सफ्टवेयर आफै बन्द हुनेलगायत विभिन्न सफ्टवेयर जडान गरेको भेटिएको समाचारमा भनिएको छ । यो घोटालाले करीब ३ लाख थान कार प्रभावित हुने अनुमान गरिएको छ ।
कम्पनीले उत्पादन गरेका डिजेल सवारीले अनुमति दिइएको स्तरभन्दा बढी नै वातावरणीय प्रदूषण गरेको जर्मन अधिकारीले पनि डेम्लरमाथि अनुसन्धान गरिरहेका छन् ।
यस अघि डेम्लरको मर्सिडिज मोडलका कारले अनुमति दिइएको स्तरभन्दा १० गुणा बढी नाइट्रोजन–डाइअक्साइड उत्सर्जन गरेको समाचार छापिएका थिए ।




