सुर्खेत (अस) । देशैभरमा स्वैच्छिक अवकाश रोज्नेमा सुर्खेतका कर्मचारी धेरै देखिएका छन् । सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन भएर जान नचाहने निजामती कर्मचारीलाई लक्ष्य गरी ल्याएको स्वैच्छिक अवकाशका लागि सुर्खेतबाट सबैभन्दा बढी निवेदन परेको सामान्य प्रशासन मन्त्रालयले बताएको छ ।
निवेदन दिन अब १ साता मात्र बाँकी रहँदा सुर्खेतबाट १ सय ४७ जनाको निवेदन परेको छ । त्यसपछि काठमाडौंका ९५ जना छन् । बाग्लुङबाट ७९, बर्दिया ७५, धादिङ ४५, भक्तपुर २२, कास्की २१, खोटाङ ५८ र अछामबाट ४० जनाको निवेदन परेको छ । त्यसैगरी, पर्साबाट ५१, उदयपुर २०, ललितपुर ३५, तनहुँ १९, कास्की २१ र बैतडीबाट ५७ जनाले निवेदन दिएका छन् ।
मन्त्रालयले ४५ दिनको म्याद दिएर २८ पुसमा स्वैच्छिक अवकाशका लागि प्याकेजमै (भीआरएस) अफरका लागि देशभरका कर्मचारीसँग निवेदन आह्वान गरेको थियो । सो निवेदन दिने अन्तिम समय १३ फागुनसम्म छ । निजामती किताबखानाका अनुसार हाल निजामती क्षेत्रमा ८६ हजार कर्मचारी छन् । तीमध्ये २२ हजार कर्मचारी स्वैच्छिक अवकाशका लागि योग्य छन् ।
सरकारले कर्मचारी समायोजन ऐनमार्फत सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन भएर जान नचाहने २० वर्ष सेवा अवधि पुगेका र ५० वर्ष काटेका कर्मचारीका लागि एकमुष्ठ ७ वर्षको पेन्सन पहिले नै दिने गरी सो प्याकेज ल्याएको थियो ।


