फागुन ९, रुपन्देही । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरद कुमार गौचनसहित तीन जनाको हत्यामा प्रत्यक्ष संलग्न रहेको जिम्मा लिएका फरार अपराधी मनोज पुन प्रहरीसँगको मुठभेडमा बुधवार विहानै मारिएका छन् । गुण्डा नाइके पुन र उनका सहयोगी सोम आलेको बुधवार बिहान प्रहरी इन्काउण्टरमा रुपन्देहीको देवदहमा मृत्यु भएको हो ।
भारतमा लुकेर नेपालका उद्योगी व्यवसायीसँग चन्दा असुली, गुण्डागर्दी, हत्यालगायतका घटनामा संलग्न रहेको भन्दै नेपाल प्रहरी र अपराध अनुसनधान विभाग (सीआईबी)को टोलीले पुनको खोजी तीव्र बनाएको थियो । पुनको नेतृत्वमा उनको समूहले निर्माण व्यवसायी गौचन, देवदहका व्यवसायी तथा युवा सङ्घका नेता दुर्गा तिवारी तथा अर्का व्यवसायी वसन्त पौडेलको हत्या गरेको प्रहरीको दावी छ ।
यसरी मारिए मनोज पुन
भारतमा लुकेर बसेका पुन आइतवार रूपन्देही प्रवेश गरेको केन्द्रीय अपराध अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले सूचना पाएको थियो । पुनको लोकेशन खोज्दै जाँदा सिआईबीको टेक्निकल टोलीले देवदह आसपासमा नै रहेको पत्ता लगायो । तीन दिनअघिदेखि पुनको खोजीमा सिआइबीका डिएसपी अङ्गुर जिसीको टोली देवदह, भवानीपुर र खैरेनी आसपासमा केन्द्रित थियो ।
बुधवार बिहान ३ बजेर ३० मिनेट जाँदा देवदह–४ भवानीपुरमा पूर्वबाट पश्चिमतर्फ प्रहरीको टोली मोटरसाइकलमा जाँदै गर्दा पश्चिमतर्फबाट पुन र उनका सहयोगी सोम आले लु१३प ३३७६ (भारतीय नम्बर प्लेटको मोटरसाइकलमा नेपाली नम्बर प्लेट राखेर) नम्बरको पल्सर मोटरसाइकमा आउँदै थिए । विजयपुर टोलमा उनीहरुको जम्काभेट हुँदा सोम आलेले प्रहरीमाथि गोली चलाएको प्रहरीले बताएको छ । आलेले चलाएको गोली प्रहरी चढेको मोटरसाइकलको टायरमा लागेको थियो । 
पछाडिबाट आइरहेको प्रहरीको संयुक्त टोलीले जवाफी फाइरिङ गर्दै पुन र आले दुबै जनामाथि २२ राउण्ड गोली चलायो । गोली लागेर ढलेका उनीहरुलाई उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल ल्याइएकोमा दुबैको मृत्यु भैसकेको अस्पतालले घोषणा गरेको रुपन्देही प्रहरी प्रमुख ज्ञवालीले बताए ।
ज्ञवालीले अञ्चल अस्पतालमा सञ्चारकर्मीसँग भने, ‘प्रहरीलाई लक्षित गरी फायरिङ भयो । जवाफी कारवाही गर्दा दुबै जना घाइते भए । उपचारको क्रममा उनीहरुको मृत्यु भयो ।’ भारतको गोवामा मनोज पुन समातिएको भन्ने समाचार आएको थियो भन्ने सञ्चारकर्मीको जिज्ञासामा ज्ञवालीले भने, ‘त्यो गलत र प्रायोजित हो । उनी नेपालमै आइसकेका थिए भन्ने सूचना हो । प्रहरीले खोजेको थियो ।’ 
दुर्गा तिवारीको हत्या भएको १४ महीनापछि मुख्य अभियुक्त पुन प्रहरीको जवाफी कारवाहीमा मारिएका हुन् । मनोज पुनलाई छातीमा ९, दाहिने पाखुरामा १ र दाँया तिघ्रामा २ गरी १२ गोली लागेको छ । आलेलाई छातीमा ५, पेटमा १, बायाँ कोखामा १, दायाँ खुट्टामा १ गोली लागेको छ । घटनास्थलबाट प्रहरीले अटोमेटिक पेस्तोल, ल्यापटप, सुनील रानाको नाममा मनोज पुनले प्रयोग गर्ने पासपोर्ट र एटिएम कार्ड फेला पारेको छ ।
रुपन्देही प्रहरी प्रमुख ज्ञवालीले भने, ‘मृत्यु हुनु दुःखद भए पनि प्रहरीको लागि यो ठूलो सफलता हो । रूपन्देहीमा आतङ्कको अन्त्य भएको छ । मनोज पुनको अपराध साम्राज्य सकियो ।’ उनले थपे, ‘कक्षा कोठामा शिक्षकमाथिको दुव्र्यवहारदेखि टोले गुण्डा हुँदै डी कम्पनी (दाउद इब्राहिम) कनेक्सनसम्म पुगेको अपराधको नाइके मनोज पुन प्रहरी कारवाहीमा मारियो ।’
को हुन् मनोज पुन ?
पुन शुरुमा माओवादी कार्यकर्ता थिए । केही समयपछि उनी एमाले भातृसंगठन यूवा सङ्घ नेपालमा प्रवेश गरे । यूवा सङ्घमा प्रवेश गरेर पनि उनी नसुध्रिएको भन्दै सङ्घले करीब ५ महीनामै कारवाही गरेर उनलाई निकालेको थियो । रूपन्देहीको देवदह वडा नं. ६ का २९ वर्षिय पुन र उनको समूहले पछिल्ला वर्षहरुमा रूपन्देहीका व्यवसायीहरुलाई चन्दा माग्दै आतङ्क मच्चाउँदै आएको थियो । मनोज संगठित अपराध, हातहतियार खरखजना र ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रही फरार थिए ।
को हुन सोम आले ?
सोम आलेको परिवार भैरहवामा बस्दै आएको छ । आले पाल्पा कारागारमा ५ वर्ष कैद भुक्तान गरेका व्यक्ति हुन् । उनी यूवा सङ्घमा प्रवेश गरेदेखि नै मनोजसँग हिड्थे । तिवारी र पौडेलको हत्यामा संलग्न भनिएका पदम चौधरी र महिनारायण चौधरीसँग उनी नेपालमै बसेर मनोजलाई पैसा पठाइदिन उद्योगीहरूलाई धम्काउने गर्थे । तिवारी र पौडेललाई गोली हान्ने सुटर सोम आले रहेको प्रहरी बताउँछ । महिनारायण र पदमलाई गत माघ ७ गते प्रहरीले चितवन र पोखराबाट पक्राउ गरी बुटवल ल्याएर सार्वजनिक गरेको थियो ।
के भन्छन् स्थानीय ?
सीता बस्याल: बिहान सवा तीन बजे गोली चलेको आवाज सुनियो । १५ देखि २० राउण्डसम्म गोली चलेको आवाज आयो । हामी बाहिर निस्कन सकेनौं । आधा घण्टापछि घरको छतमा गएर हेर्दा जताततै प्रहरीले घेरा हालेको थियो । हामीलाई साह्रै डर थियो । पुनको मृत्युको खबरले छाती हलुङ्गो भएको छ ।
चन्द्रकान्त पाण्डे: मेरो घर घटनास्थलभन्दा एक किलोमिटर टाढा पर्छ । म घटनास्थल आउँदा दुई ओटा मोटरसाइकल बाटोमा पल्टिएका थिए । दुई ओटै पल्सर मोटरसाइकल थिए । रगत बगेको थियो । बगेको रगत प्रहरीले माटो हालेर पु¥यो । देवदहका स्थानीय अपराधका सृङ्खलाबाट आतङ्कित भएका थिए । अब केही भए पनि राहतको महशुस गर्नेछन् ।
तेजु भट्टराई: हामी जस्ता व्यवसायीहरु मनोज पुनको चन्दा र फोन आतङ्कले आजित भएका थियौं । बिहान प्रहरीको इनकाउण्टरमा मनोजको मृत्यु भएको खबर सुने । व्यवसायीहरुले अब शान्तीको श्वास फेर्ने छन् ।





One Comment
Shiva dhakal
यस्तै अपराधी अरु लाई पनी खोजी खोजी इनकाउंटर गर्नु पर्छ