Latest posts by अभियान संवाददाता (see all)
काठमाडौं । लघुवित्त क्षेत्रको सबलीकरणका लागि मार्गचित्र बनाउन जोड दिइएको छ । लघुवित्त वित्तीय संस्थाका सञ्चालकको सहभागितामा काठमाडौंमा आयोजित २ दिने गोष्ठीमा संस्थालाई स्वस्थ, सबल र सक्षम बनाउने कार्यमा नीतिनिर्माण गरी मार्गदर्शन दिन जोड दिइएको हो ।
स्वावलम्बन विकास केन्द्रले आयोजना गरेको गोष्ठीमा लघुवित्त संस्थालाई स्वस्थ, सबल र सक्षम बनाउन सञ्चालक समितिका सदस्यको भूमिका रहेको बताइएको छ । साथै, यस क्षेत्रमा देखा परेका समस्या तथा तिनको पहिचान गरी समाधानको उपाय खोजी गर्नुपर्नेमा जोड दिइयो ।
लघुवित्त संस्था र ग्राहक संरक्षणमा सञ्चालक समितिका पदाधिकारीको भूमिका, कमी कमजोरीको विश्लेषणका साथै सुशासन सम्बन्धमा छलफल गरिएको छ ।
गोष्ठीको उद्घाटन गर्दै नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर शिवराज श्रेष्ठले ग्रामीण क्षेत्रमा वित्तीय सेवा विस्तारमा लघुवित्त संस्थाले सक्रिय भूमिका निर्वाह गरेको बताए । लघुवित्तका माध्यमबाट ग्रामीण अर्थतन्त्रमा सहयोग पुगेको र लघुउद्यम विकासमा महŒवपूर्ण योगदान रहेको उनको भनाइ छ ।
कार्यक्रममा स्वावलम्बन विकास केन्द्र अध्यक्ष शङ्करमान श्रेष्ठले लघुवित्तको मूल मर्म र उद्देश्यबमोजिम अघि बढ्न संस्थाका सञ्चालक समितिका सदस्यलाई आग्रह गरे । लघुवित्त क्षेत्रको दिगो विकास र विस्तारका लागि सञ्चालक क्रियाशील रहन र लघुवित्तको आधारभूत सिद्धान्तको अनुसरण गरी विपन्न वर्गको आर्थिक, सामाजिक विकासमा योगदान पुग्ने गरी नीतिनिर्माण गर्नुपर्नेमा उनको जोड थियो ।
लघुवित्त संस्था स्थापना हुने क्रम बढेका कारण पनि यसमा विभिन्न विकृति देखा पर्न थालेकाले नयाँ लघुवित्त संस्थालाई अनुमति दिन स्थगित गर्नुपर्ने र छुट्टै नियमनकारी निकायको आवश्यकता महसूस भएको उनको भनाइ थियो ।
नेपाल लघुवित्त बैङ्कर्स सङ्घका अध्यक्ष रामचन्द्र जोशीले लघुवित्तका ग्राहकको संरक्षण र उनीहरूको आर्थिक, सामाजिक विकासका साथै उद्यमशीलता विकास गर्दै आयस्तर अभिवृद्धि गर्न संस्थाले महत्त्वपूर्ण भूमिका निभाउनुपर्नेमा जोड दिए । लघुवित्त क्षेत्रमा देखापरेका विकृति पहिचान गरी समाधानमा ध्यान दिनुपर्ने उनको भनाइ थियो । गोष्ठीमा देशभर सञ्चालित २२ लघुवित्त संस्थाका अध्यक्ष तथा सञ्चालकका साथै लघुवित्त विज्ञ सहभागी थिए ।



