फागुन ११, क्यालिफोनिर्या (अमेरिका) । अमेरिकी प्रविधि र सामाजिक सञ्जाल कम्पनी ‘स्न्याप इङ्क’का प्रमुख कार्यकारी अधिकृत एभन स्पिगलले झण्डै ६४ करोड डलर तलब सुविधा लिएका छन् । सन् २०१७ मा स्न्याप इङ्कबाट स्पिगलले कुल ६३ करोड ७८ लाख डलर तलब सुविधा बुझेका छन् । यो कुनै पनि कम्पनीको सीईओले लिएको अहिलेसम्मकै तेस्रो बढी तलब हो ।
यस अघि कीर्तिमानी तलब सुविधाको रेकर्ड हेज फण्ड अक–जिफ क्यापिटल म्यानेजमेन्ट गु्रपका सीईओ ड्यानियल अकले सन् २००७ र सन् २००८ मा बनाएका थिए । अकले सन् २००७ मा ९१ करोड ८९ लाख डलर र सन् २००८ मा १ अर्ब १९ करोड डलर बराबरको तलब सुविधा लिएका थिए । प्राथमिक शेयर निष्कासनपछि गत वर्ष शेयर बजारमा स्न्याप इङ्कको शेयर किनबेच शुरु भएको थियो ।
शेयर बजारमा कम्पनीको प्रदर्शनको आधारमा स्पेगलको तलब सुविधा तय गरिएको थियो । सोही आधारमा उनलाई ६३ करोड ६६ लाख डलर बराबरको कम्पनीको शेयर र १२ लाख डलर बराबरको अन्य सुविधा दिइएको कम्पनीले बिहीवार शेयर नियामकमा दर्ता गराएको फाइलिङमा भनिएको छ । फाइलिङअनुसार गत वर्ष स्पिगलले तलब भने ९८ हजार ७८ डलर मात्रै लिए छन् । एजेन्सी











