सिड्नी (अष्ट्रेलिया) । बिट्क्वाइनको सृजना आफैंले गरेको हो भन्ने दाबी गर्ने अष्ट्रेलियाली व्यवसायी क्रेग राइटमाथि मुद्दा दायर भएको छ । पूर्व व्यावसायिक साझेदार डेभ क्लेम्यानलाई धोका दिएर दुवै जनाको संयुक्त स्वामित्वमा रहेको लाखौं बिट्क्वाइन र कैयौं ब्लकचेन प्रविधिको बौद्धिक सम्पत्ति चोरी गरेको आरोप राइटमाथि लागेको छ । यस मामिलामा यसै महीना अमेरिकाको फ्लोरिडा राज्यको दक्षिणी जिल्ला अदालतमा एक मुद्दा दायर भएको छ ।
मोटरसाइकल दुर्घटनाका कारण ह्विलचेयरको सहारा लिन बाध्य बनेका क्लेम्यानको उपचार गर्नै नसकिने सङ्क्रमणका कारण सन् २०१३ मा नै मृत्यु भएको थियो । राइटमाथि क्लेम्यानका भाइ इरा क्लेम्यानले मुद्दा हालेका हुन् । मुद्दाअनुसार राइट र क्लेम्यान दुवै जना मिलेर बिट्क्वाइन माइनिङ गरेका हुन् । उनीहरूको स्वामित्वमा ११ लाखओटाभन्दा बढी बिट्क्वाइन छ । राइट र क्लेम्यानले सन् २०११ मा डब्ल्यूएण्डके इन्फो डिफेन्स रिसर्च एलएलसी नामक कम्पनी स्थापना गरेका थिए ।
क्लेम्यानसँग डब्ल्यूएण्डकेको ५० देखि १०० प्रतिशतसम्मको स्वामित्व रहेको मुद्दामा उल्लेख गरिएको छ । ५ अर्ब ११ करोड ८२ लाख ६६ हजार ४ सय २७ डलर ५० सेण्टबराबरको बिट्क्वाइन र आईपी अधिकारको स्वामित्व क्लेम्यानसँग भएको दाबी मुद्दामा इरा क्लेम्यानले गरेका छन् । बिट्क्वाइनको सृजनामा राइट वा क्लेम्यान एक्लैको योगदान छ वा दुवै जना मिलेर उक्त भर्चुअल मुद्राको सृजना गरेका हुन् भन्ने चाहिँ अस्पष्ट छ ।
शुरुआतदेखि नै बिट्क्वाइनमा राइट र क्लेम्यान संलग्न रहेको र सन् २००९ देखि सन् २०१३ को बीचमा यिनीहरूसँग अनगिन्ती बिट्क्वाइन रहेको कुरालाई अस्वीकार गर्न नमिल्ने बताइएको छ । राइटले धोकापूर्वक पछिल्ला तीन सम्झौता तयार पारेको र क्लेम्यानको डिजिटल हस्ताक्षरको प्रयोग गरेर क्लेम्यानकै स्वामित्वको बिट्क्वाइनसमेत चोरेको आरोप लगाइएको छ ।
क्रेगले सन् २०१६ को मेमा बिट्क्वाइन निर्माताका रूपमा चिनिँदै आएका छद्मभेषी सातोशी नाकामोतो आपूm स्वयम् र आफ्ना मृत साथी क्लेम्यान भएको दाबी गरेका थिए । त्यति बेला उनले आफ्नो भनाइ पुष्टि गर्ने प्रमाणहरू पेश गर्ने प्रयास पनि गरेका थिए । आफ्नो भनाइ प्रमाणित गर्न राइटले क्रिप्टोग्राफिक कीको प्रयोग गर्दै साङ्केतिक सन्देशसमेत लेखेर देखाएका थिए । तर, उनले आफ्नो भनाइ पुष्टि गर्ने नयाँ प्रमाण भने पेश गर्न सकेका थिएनन् । एजेन्सी




