धरान (अस) । चिठ्ठा परेको भन्दै लाखौं रुपैयाँ ठग्ने गिरोहलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र धरान प्रहरीको टोलीले ठगीमा संलग्न ५ जनालाई पक्राउ गरी शनिवार सार्वजनिक गरेको हो । धरानका रमेश श्रेष्ठले चिठ्ठाको नाममा ठगी भएको उजुरी दिएका थिए ।
पक्राउ पर्नेमा ४० वर्षीया अनिताकुमारी राउत र उनका छोरा २३ वर्षीय आशिष राउत क्षेत्री, ६१ वर्षीय टीकाराम जैसी, ३१ वर्षीय यशकुमार थापा र ३७ वर्षका प्रितमबहादुर गुरुङ रहेका छन् । पक्राउ परेका राउत आमाछोराले चिठ्ठा परेको भन्दै रमेश श्रेष्ठबाट मात्र २ लाख ३७ हजार ठगी गरेका थिए । अन्य विभिन्न स्थानका व्यक्तिहरूलाई चिठ्ठा परेको भन्दै ७ लाख ४८ हजार रुपैयाँभन्दा बढी ठगी गरेको प्रहरीले बताएको छ । पक्राउ गरेका पाँचै जनालाई ठगी मुद्दाअन्तर्गत मुद्दा चलाइने प्रहरीले बताएको छ ।