रूपन्देही । मेगा सिटीको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)को तयारीका सन्दर्भमा एशियाली विकास बैङ्कको प्रतिनिधिमण्डलले तिलोत्तमा नगरपालिकासँग छलफल गरेको छ । शहरी विकास मन्त्रालयले एशियाली विकास बैङ्कको आर्थिक सहयोगमा बुटवल–तिलोत्तमा–सिद्धार्थनगर र लुम्बिनी कोरिडोरलाई मेगा सिटीको रूपमा विकास गर्ने गरी काम अघि बढाएको छ ।
रूपन्देहीमा निर्माण हुने मेगा सिटीको सम्भाव्यता अध्ययनका बारेमा एशियाली विकास बैङ्कको प्रतिनिधि टोलीले तिलोत्तमा नगरपालिकासँग छलफल गरेको हो । सो टोलीले अन्य स्थानीय तहहरूसँग छुट्टाछुट्टै तथा सामुहिक छलफल गरिसकेको छ । ‘मेगा सिटीका सन्दर्भमा यस क्षेत्रमा ठूला के–कस्ता विकासका परियोजनाहरू निर्माण गर्न उपर्युक्त र आवश्यक छ भन्ने बारेमा एशियाली विकास बैङ्कको टोलीले हामीहरूसँग सुझाव मागेको हो ।’ तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले भने ।
तिलोत्तमा नगरपालिकाले तिलोत्तमा चक्रपथ, अत्याधुनिक ल्याण्डफिल साइट, अत्याधुनिक बहुउपयोगी कोल्डस्टोर, आधुनिक बसपार्क, व्यवस्थित ढल निकास र तिनाउ तथा रोहणी नदीलाई व्यवस्थित गर्ने बताएको छ । साथै नगरपालिकाले जलाशययुक्त आयोजना र पर्यटन प्रवद्र्धनको विषयलाई अघि सारेको छ । प्रस्तावित आयोजनाको कार्यान्वयनले यस क्षेत्रको विकासमा महŒवपूर्ण टेवा पुग्ने विश्वाससहित मेगा सिटी कार्यान्वयनका सन्दर्भमा तिलोत्तमाले यी विषयलाई उठान गरेको नगर प्रमुख घिमिरेले बताए । ‘यी योजनालाई एडीबीको टोलीले पनि निकै सकारात्मक रूपमा लिएको पायौं,’ छलफलमा सहभागी तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले भने ।
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली पनि सहभागी रहनुभएको छलफल कार्यक्रममा एडीबी टोलीका टिमलिडर एड्वार्ड लिमन, उप–टिमलिडर डा. महिन्द्र सुब्बालगायत सहभागी थिए ।
यस्तै, नगरपालिकाको तर्फबाट नगर प्रमुख वासुदेव घिमिरे, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, प्रवक्ता सुरेन्द्र श्री, योजना अधिकृत प्रदीप वन, प्रशासन अधिकृत सागर गौतमको सहभागिता थियो ।
रूपन्देहीसहित मुलुकका विभिन्न स्थानमा विकास गर्ने भनिएका आठओटा मेगा सिटीका लागि चालू आर्थिक वर्षको अन्त्यसम्ममा डीपीआर तयार गर्ने सरकारको लक्ष्य छ । स्थानीय तहहरूसँग छलफल गरी योजना छनोट भएपछि त्यसको डीपीआर तयार गर्ने मन्त्रालयको योजना छ । मन्त्रालयले प्रदेश नं. ५ मा मेगा सिटी बनाउने स्थान रूपन्देहीलाई तय गरेको हो ।



