Latest posts by अभियान संवाददाता (see all)
धुलिखेल । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नयाँ सरकार उद्योगधन्दाको विकासका लागि विशेष योजनाका साथ अगाडि बढ्ने बताएका छन् । उनले त्यसका केही दिनभित्रै नीति बनाएर त्यसको कार्यान्वयनसमेत गरिने जानकारी दिए । मन्त्री यादवले काभ्रेको धुलिखेलमा शुरू भएको ‘काभ्रे महोत्सव धुलिखेल–२०७४’ को उद्घाटनका अवसरमा यस्तो धारणा राखेका हुन् ।
मन्त्री यादवले उद्योगधन्दाको विकासका लागि सरकारले अगाडि सारेको कार्यक्रमलाई सफल पार्न उद्योगी व्यवसायी, किसान, मजदुर र सरकार सबैको सहकार्य जरुरी रहेको बताए । उनले भ्रष्टाचारको अन्त्य र उत्पादन वृद्धि गर्नु नयाँ सरकारको मुख्य उद्देश्य रहेको समेत बताए ।
१ सय ५० ओटाभन्दा बढी स्टल रहेको उक्त महोत्सवमा कृषि, पर्यटन, हस्तकला, औद्योगिक उत्पादन, सूचना प्रविधि, शिक्षा र स्वास्थ्य, निर्माण सामग्री, भवन निर्माण प्रविधिलगायतका स्टलहरू रहेका छन् । आयोजकले महोत्सवबाट ६ करोडभन्दा बढी कारोबार गर्ने लक्ष्य राखेको आयोजक संस्थाका अध्यक्ष मञ्जुकुमार कोजूले बताए । उनले भने, ‘आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने, जिल्लाका सुगमदेखि दुर्गम ग्रामीण क्षेत्रमा उत्पादित वस्तुको बजारीकरण गर्ने, कृषि उत्पादन र पशुपालनबाटै आयस्रोत वृद्धि गर्नेलगायत उद्देश्यले मेला आयोजना गरिएको आयोजकले बताएका छन् । मेला चैत ३ गतेसम्म सञ्चालन हुनेछ ।



