Latest posts by अभियान संवाददाता (see all)
चितवन । अघिल्लो वर्षसम्म जिल्लाको विकासका योजनाहरूमा प्रमुख भूमिकामा रहेको जिल्ला विकास समिति, चितवन अहिले जिल्ला समन्वय समिति (जिसस)मा परिवर्तन हुँदा कामविहीन बन्दै गएको छ । यसअघि कार्यालयले योजना छनोट गर्ने, योजना बनाउने, गाउँपालिका, नगरपालिकामा बजेट निकासा गर्ने र अनुगमन, नियमन गर्नेलगायतका कामहरू गर्दै आएको थियो । अहिले अधिकारविहीन हुँदा कार्यालय सुनसान बनेको छ । अधिकांश कार्यालय कक्षमा कर्मचारी भेटिँदैनन् ।
जिल्ला समन्वय समिति, चितवनका अध्यक्ष कृष्णकुमार डल्लाकोटीले देशमा तीन तहको निर्वाचन सम्पन्नपश्चात सम्पूर्ण अधिकार स्थानीय तहमा गएकोले जिसस अधिकारविहीन भएको बताए । अहिले सङ्क्रमणकालीन समयमा कार्यालयको भूमिका नदेखिए पनि प्रदेश सरकारले जिल्ला समन्वय समितिलाई विशेष अधिकार दिनसक्ने उनले बताए ।
जिससले अहिले स्थानीय तह, र केन्द्रीय सरकारका विकासका योजनाहरूसँग समन्वय मात्रै गर्दै आएको छ । अध्यक्ष डल्लाकोटीले अब ऐन कानून निर्माण भएपछि जिल्ला समन्वयले विशेष भूमिकासहित काम गर्ने बताए । कार्यालयमा काम नहुँदा सेवाग्राहीसमेत आउँदैनन्, त्यहाँ भएका अधिकांश कर्मचारी पनि नगरपालिका, गाउँपालिकामा काम गर्न गइसकेकोले कार्यालयमा काम नदेखिएको हो । कार्यालयका प्रमुख कृष्णप्रसाद सुवेदी ४५ जना दरबन्दी भएको यस कार्यालयमा घटेर आधा कर्मचारी मात्र रहेको बताउँछन् । अहिले कार्यालयमा काम नभएको देखिएता पनि जिल्लाका अन्य निकायसँग समन्वय गरी, अनुगमन, नियमन गर्ने र झोलुङ्गे पुल, बाटोलगायत निर्माणलाई निरन्तरता दिएको उनले बताए ।




