फागुन २९, पेचिङ (चीन) । चीनले मन्त्रालय पुनसंरचना र नियामक निकायहरु गाभ्ने तयारी गरिरहेको छ । मङ्गलवार त्यहाँको संसदमा पेश गरिएको दस्तावेजअनुसार मन्त्रालयको पुनसंरचना अन्तरगत बैङ्किङ र बीमा नियामकहरु गाभिदैछ ।
वित्तीय प्रणालीको निरीक्षणलाई व्यवस्थित र कसिलो बनाउन बैङ्किङ र बीमा नियामकका केही भूमिकाहरु केन्द्रीय बैङ्कतिर सारिनेछ । यसबाहेक सरकारले सात ओटा नयाँ मन्त्रालयका साथै केही सरकारी निकायको पनि स्थापना गर्नेछ । यी मध्ये एक निकाय राष्ट्रिय बजार निरीक्षण व्यवस्थापन विभाग हुने छ ।
यस नयाँ निकायले बजारमा प्रतिस्पर्धा विरोधी कानून मिच्ने र मनपरी मूल्य निर्धारण गर्ने लगायत मामिलाबारे निर्णय लिनेछ । यसअघि यस्तो काम राष्ट्रिय विकास तथा सुधार आयोग (एनडीआरसी), वाणिज्य मन्त्रालय र स्टेट एड्मिनिष्ट्रेशन फर इन्डष्ट्रिज र कमर्श (एसएआईस)ले मिलेर गर्थे ।
यसले सरकारको प्राथमिकता कतातिर गइरहेको छ भन्ने उजागर गरेको छ । हालैका वर्षमा चीनमा मर्जर र एक्विजिशन सम्झौतामा वृद्धि भएको छ । योसँगै एकाधिकार र प्रतिस्पर्धा विरोधी कानून मिच्ने र कम्पनीहरुले मिलिमतोमा मूल्य निर्धारण गर्ने प्रवृत्तिमा रोक लगाउन नयाँ नियामक गठन गरिँदैछ ।
गत वर्षको अन्त्यदेखि नै पेचिङले तरलता र जोखिमयुक्त क्रियाकलाप रोक्ने क्रम तीव्र बनाएको छ । यस्तो जोखिम कम गर्न विभिन्न नयाँ कानूनहरु पनि ल्याइएका थिए । वित्तीय सम्पत्ति कुल गार्हस्थ्य उत्पादनको करीब ४ सय ७० प्रतिशतको हाराहारीमा पुगेर नियमन गर्न गाह्रोे भएको र छायाँ बैङ्किङको आकार बढ्दै गएर नियन्त्रण नै गर्न नसक्ने अवस्थामा पुगेको भन्दै अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले पनि चेतावनी दिइसकेको छ । मन्त्रालय पुनसंरचनाको पछिल्लो प्रस्तावमा आप्रवासन व्यवस्थापन विभागको गठन र राष्ट्रिय बौद्धिक सम्पत्ति अधिकार आयोगको पुनःगठनका योजना पनि छन् ।
यी प्रस्तावहरुलाई आगामी शनिवार संसदले औपचारिक रुपमा अनुमोदन गर्नेछ । सरकारी निकायहरुलाई थप प्रभावकारी बनाउन चीनले यिनीहरुको जिम्मेवारी, भूमिका र शक्तिको नै पुनःसंरचना गर्न लागेको हो । यस्ता सुधार गहन हुने राष्ट्रपति सि चिनफिङका शीर्ष आर्थिक सल्लाहकार लिउ हेले बताएका छन् । एजेन्सी




