वाशिङ्टन डीसी (अमेरिका) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी चिप निर्माता कम्पनी ब्रोडकमको प्रतिद्वन्द्वी कम्पनी क्वालकमको टेकओभर प्रस्तावलाई रद्द गरिदिएका छन् । १ खर्ब ४६ अर्बको टेकओभर प्रस्ताव कार्यान्वयनमा आएको भए यो प्रविधि क्षेत्रको अहिलेसम्मकै सबैभन्दा ठूलो एक्विजशन हुने थियो भने दुईओटा कम्पनी गाभिएपछि बन्ने कम्पनी इण्टेल र सामसुङपछि विश्वको तेस्रो ठूलो चिप निर्माता कम्पनी हुने थियो । तर, टेकओभर प्रस्ताव रद्द गर्ने राष्ट्रपतिको घोषणाले सो सम्भावनालाई धूमिल पारिदिएको छ ।
ट्रम्पले राष्ट्रिय सुरक्षाका कारण योजना रद्द गरिएको बताएका छन् । क्वालकमको नियन्त्रणमा ब्रोडकमले त्यहाँको राष्ट्रिय सुरक्षालाई कमजोर पार्ने खालका गतिविधि गर्न सक्ने सम्भावना देखिएका कारण यस्तो निर्णय गरिएको बताइएको छ । आफ्नो अधिकांश व्यवसाय अमेरिकाबाटै सञ्चालन गर्ने ब्रोडकमले त्यहाँ आफूलाई स्थापित गर्न खोजिरहेको हो । यसले ५ जी रोडम्यापमा हुने लगानीमा कटौती हुने, क्वालकमलाई कमजोर पार्ने र चिनियाँ कम्पनी हुवावेलाई नेतृत्व गर्न अनुमति दिन सक्ने सम्भावित जोखीमका कारण पनि यो टेकओभरलाई रोकिएको हो ।
५जी (तीव्र रूपमा डाटा ट्रान्सफर गर्ने दूरसञ्चारको मापदण्ड)को विकासमा हुवावे सबैभन्दा प्रतिस्पर्धी कम्पनी रहेको अमेरिका अर्थ मन्त्रालयले केही समयअघि बताएको थियो । ब्रोडकमको अन्य विदेशी कम्पनीसँगको सम्बन्धका कारण पनि सम्झौता रोकिएको हुन सक्ने अनुमान गरिएको छ । तर, ब्रोडकमले भने क्वालकम एक्विजिशनले राष्ट्रिय सुरक्षासम्बन्धी चिन्ता बढाउन सक्ने कुरालाई अस्वीकार गरेको छ । एजेन्सी




