दैलेख (अस) । जग्गा मुआब्जाको विवादले लामो समयदेखि रोकिएको मेगासिटीको काम शुरू हुने भएको छ । जग्गादाता र आयोजनाबीच मुआब्जाको काम सुल्झिएपछि काम शुरू हुने भएको हो ।
सरकारको मध्यपहाडी राजमार्गका १० स्थानमा नयाँ शहर निर्माण गर्ने आयोजनाअन्तर्गत दैलेखको राकम कर्णालीको माझी गाउँ मेगासिटीको नमूना शहर हो । स्थानीय जग्गादाता र आयोजनाबीच मुआब्जामा विवाद नमिलेकाले रणनीति परिवर्तन गरेर काम थालिएको छ । नयाँ रणनीतिअनुसार जग्गादाताले जग्गा प्रदान गर्नेछन् । कुल जग्गाको ३० प्रतिशत जग्गा सडक र अन्य पूर्वाधारमा मासिनेछ र बचेको ७० प्रतिशत जग्गा जग्गाधनीलाई नै फिर्ता हुनेछ ।
स्थानीय सरकार गठनपछि अहिले आयोजनाले काम अगाडि बढाएको आठबीस नगरपालिका दैलेखका प्रमुख खड्गराज उपाध्यायले बताए । जनताको भेला गरेर आयोजना निर्माणबारे छलफल भएको छ । आयोजनाका लागि आउने रकम फ्रिज हुने प्रचलन बन्द गर्न र काम गर्न आफूहरूले दबाब दिएको उपाध्यायले जानकारी दिए । रोक्का गरिएको जग्गा फुकुवा भएकाले नयाँ शहरले गति लिने अवस्था देखिएको उनले बताए ।
गत वर्ष आयोजनाले ६ करोड ६८ लाख रुपैयाँ विनियोजन गरेको थियो । उक्त रकम सडक निर्माण, सार्वजनिक जग्गा संरक्षणलगायत काममा खर्च गरिएको थियो । यो वर्ष पनि आयोजनाका लागि १० करोड रुपैयाँ प्राप्त भएको इञ्जिनियर सञ्जीव शाहले जानकारी दिए । यो वर्षको बजेटबाट सडक पूर्वाधारलगायत काम भइरहेको शाहले बताएका छन् । राकमकर्णाली–४ सेरावाडा र बगर खेतमा नयाँ शहरका लागि आवश्यक पूर्वाधार निर्माण गर्न डीपीआर सुरु गरिएको छ ।
निकै उब्जाउ मानिएको जमीन नयाँ शहरले मासिने भए पनि नयाँ शहर बसेपछि पहाडबाट बसाइँ सरेर तराई जाने मानिसको सङ्ख्या भने घट्ने आशा गरिएको छ ।



