Latest posts by अभियान संवाददाता (see all)
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले मुलुकको आर्थिक समृद्धिलाई अघि बढाउन पर्यटन क्षेत्रको महत्त्वपूर्ण योगदान हुने बताए । राजधानीमा टुरिजम बिजनेश अवार्ड वितरण गर्दै दाहालले नेपालमा राजनीतिक मार्गचित्र बदलिएको र अब आर्थिक मार्गचित्र बदल्ने काम बाँकी रहेको बताउँदै आर्थिक समृद्धिको महत्त्वपूर्ण पक्ष पर्यटन भएकोले सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
पूर्वमन्त्री तथा सांसद अग्निप्रसाद सापकोटाले वाम गठबन्धनले नेपालमा ५० लाख पर्यटक नेपाल भिœयाउने लक्ष्य राखेको र त्यसलाई सम्भव तुल्याउन आफूहरू लागिपरेको बताए । राजनीतिक अस्थिरताका कारण यसअघि त्यो सम्भव नभएको र अहिले मुलुकमा राजनीतिक स्थिरता भइसकेकाले त्यो सम्भव हुने भनाइ उनको थियो ।
पूर्व पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले नेपाल बुद्धको जन्मभूमि मात्र नभएर बौद्ध दर्शनकै उद्गमस्थल भएकोले नेपाललाई बौद्ध दर्शनको उद्गमस्थलका रूपमा प्रचार–प्रसार गर्न सके विश्वभरका बौद्ध धर्मवलम्बी नेपाल आउने र त्यसकै माध्यमबाट पर्यटन विकास सम्भव तुल्याउन सकिने बताए ।
गन्तव्य नेपालले आयोजना गरेको सो कार्यक्रममा पर्यटनसँग सम्बन्धित विभिन्न विधाबाट योगदान पुर्याउने व्यक्तित्वलाई टुरिजम बिजनेश अवार्डबाट सम्मान गरिएको थियो ।



