काठमाडौं (अस) । ‘हाम्रो पनि राम्रो पनि’ भन्ने मूल नाराका साथ काठमाडौंको भृकुटीमण्डपमा शुक्रवार शुरू भएको छैटौं संस्करणको ‘मेड इन नेपाल एक्स्पो’मा शनिवार पनि अवलोकनकर्ताको उल्लेख्य सहभागिता रह्यो । शनिवारसम्ममा लगभग २५ हजार दर्शकले मेलाको अवलोकन गरेकोे मेला संयोजक पशुपति केसीले जानकारी दिए ।
विशेषगरी नेपाली उत्पादनलाई विश्वव्यापी बनाउने र नेपालमै पनि जनचेतना जगाउने उद्देश्यले आयोजना गरिएको यस एक्स्पोमा दक्षिण एशियाकै पहिलो रारा चाउचाउदेखि अबका दिनमा उत्पादन गर्न सकिने वस्तुको प्रदर्शनी गरिएको छ । मेलामार्फत नेपालमा कस्ता वस्तु उत्पादन गरियो भने विदेशमा निर्यात गर्न सकिन्छ भनेर अनुसन्धान गरिरहेको एक्स्पोका आयोजक पशुपति केसीले बताए । नेपालकै पुरानो कृष्ण पाउरोटी, कृषि, फेशन, खाद्यमा भित्रिएका नयाँ प्रविधि एक्स्पोका मुख्य आकर्षण छन् । एक्स्पोमा स्वदेशी उद्योग तथा उत्पादकका १ सय ४० ओटा स्टल छन् । चैत ४ गतेसम्म सञ्चालन हुने एक्स्पोमा खाद्यान्न तथा कृषिजन्य उत्पादन, हस्तकला तथा काष्ठकला र मूर्तिकलाका सामग्री, गार्मेण्ट तथा जुत्ता, सेवा उद्योगका साथै नेवारी भोज तथा सांस्कृतिक कार्यक्रमसमेत रहेको छ ।



