वीरगञ्ज (अस) । शालिमार ग्रूपले वीरगञ्जमा निर्माण गरेको आवासीय योजना शालिमार होम्सको विक्री खुला गरेको छ । बिहीवार एक कार्यक्रमबीच समूहले अपार्टमेण्ट विक्रीका लागि बुकिङ शुरू गरेको हो ।
प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले कार्यक्रमको शुभारम्भ गर्दै वीरगञ्जमा आवासीय प्रयोजनको यो अपार्टमेण्ट विकासको एउटा आयाम भएको तर्क गरे । शालिमार समूहले डेढ अर्ब रुपैयाँको लगानीमा ल्याएको यस योजनामा अहिले ४५ ओटा अपार्टमेण्ट विक्रीका लागि तयारी अवस्थामा रहेको समूहका उपाध्यक्ष अशोकुमार वैदले जानकारी दिए । त्यस्तै, ५० ओटा अपार्टमेण्ट निर्माण भइरहेको उनले बताए ।
विक्री शुरू गरेको पहिलो दिन १५ ओटा अपार्टमेण्ट बुकिङ भएको समूहले बताएको छ । यो संरचनामा पर्याप्त पार्किङ, पौडीपोखरी, चौबिसै घण्टा बिजुलीको आपूर्ति, सुरक्षाका लागि सीसीटिभी क्यामराको निगरानी र सुरक्षा गार्ड, प्रत्येक तलाका लागि दुईओटा सिँढी र लिफ्ट, बालबालिकाका लागि खेल मैदानलगायत सुविधा रहेको वैदको भनाइ छ ।



