तिलोत्तमामा बन्ने भयो १० तले भ्यूटावर

The following two tabs change content below.BioLatest Posts बीपी गौतम Latest posts by बीपी गौतम (see all) तिलोत्तमामा पूर्ण सरसफाइ अभियान : ५१ लाखमा ११ हजार डष्टबिन वितरण – सिण्डिकेट अन्त्यको प्रभाव : स्तरीय गाडी भित्र्याउन व्यवसायीको होड – घरपालुवा चौपाया बेवारिसे छाडे जरीवाना ! – रूपन्देही । रूपन्देहीको तिलोत्तमा नगरपालिका–२ शङ्करनगर वनविहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा नगरपालिकाको ७० प्रतिशत र अनुसन्धान केन्द्रको ३० प्रतिशत लागतमा तिलोत्तमा भ्यूटावर निर्माण हुने भएको छ । १३ करोड ५८ लाख रुपैयाँको लागतमा निर्माण हुने भ्यूटावरको प्रदेश–५ नेपाली काङ्ग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले बिहीवार शिलान्यास गरेका हुन् । भ्यूटावरको निर्माण ४ वर्षमा पूरा गर्ने भनिए पनि बजेट व्यवस्थापन भएमा २ वर्षमै निर्माण गर्न सकिने ठेकेदार कम्पनीले जानकारी दिएको छ । नगरपालिकाले भ्यूटावर निर्माणका लागि चालू आवमा १ करोड रुपैयाँ विनियोजन गरेको छ । १० तलाको बन्ने भ्यूटावर १ सय ३३ फिट उचाइको हुनेछ । भ्यूटावरमा सुविधासम्पन्न होटल, डिमार्टमेण्टल स्टोर, अनुसन्धान केन्द्रको कार्यालय, पुस्तकालयलगायत संरचना बनाउने योजना छ । लिफ्ट सिष्टमको भ्यूटावरबाट टेलिस्कोपको सहायताले लुम्बिनी, बर्दघाट, कपिलवस्तु, चुरे शृङ्खलाका साथै भारतको नौतनवा र गोरखपुरसम्मको दृश्यावलोकन गर्न सकिने अपेक्षा गरिएको छ । भ्यूटावरको निर्माणले वनवाटिकामा आउने पर्यटकको सङ्ख्या बढ्ने तिलोत्तमा नगरप्रमुख वासुदेव घिमिरेले बताए । शङ्करनगर वनविहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष बाबुराम अर्यालले केन्द्रमा रहेको चिडियाखानालाई क्षेत्रीय स्तरमा स्तरोन्नति गर्न, बाल रेल सञ्चालन र बोटानिकल गार्डेनका लागि सहयोग गर्न प्रदेश सरकारसँग माग गरे । वनवाटिकामा कति आउँछन् पर्यटक ? वनवाटिकामा गत वर्ष १ लाख २६ हजार ७ सय ५ आन्तरिक तथा बाह्य पर्यटक अवलोकन तथा भ्रमणका लागि आएका थिए । पूर्व–पश्चिम राजमार्गबाट करीब १ किमिभित्र रहेको बस्तीछेउको ५ सय ७६ हेक्टर वनमध्ये ५१ हेक्टरमा वृक्षरोपण गरी वन विहार तथा अनुसन्धान केन्द्र बनाइएको छ । केन्द्रमा चिडियाखाना, जडीबुटी अनुसन्धान केन्द्र, योग केन्द्र, बोटानिकल गार्डेन, जैविक विविधता अनुसन्धान केन्द्र, बाल उद्यान, पार्क, वनभोज स्थल, सभास्थललगायत निर्माण गरिएको छ । चिडियाखानामा चितुवा, मृग, नीलगाई, अजिङ्गर, भालु, खरायो, चाइनिज मुसा, मयूर, सारसलगायत दुई दर्जन प्रजातिका पशुपक्षी संरक्षित छन् । रमणीय पार्क र चिडियाखाना रहेको वाटिकामा वनभोज खान र घुम्न आन्तरिक तथा बाह्य पर्यटक पुग्छन् । विभिन्न जनावर तथा जैविक विविधताको अध्ययन र अनुसन्धानका लागि पनि पर्यटकको सङ्ख्या बढेको छ ।