धुलिखेल (अस) । काभ्रेमा भूकम्पले क्षतिगस्त विद्यालयको निर्माण तीव्र पारिएको छ । जिल्ला शिक्षा कार्यालय, जिल्ला आयोजना कार्यान्वयन एकाइका साथै एशियाली विकास बैङ्क (एडीबी)लगायत गैरसरकारी संस्थाको सहयोगमा भूकम्पप्रभावित विद्यालयको पुनर्निर्माण धमाधम भइरहेको छ ।
जिल्ला आयोजना कार्यान्वयन एकाइमार्फत विद्यालय व्यवस्थापन समितिहरूले ६८ विद्यालयको पुनर्निर्माण गरिरहेका छन् । यसअन्तर्गत २१ ओटा विद्यालयका दुईकोठे भवन, २२ ओटा विद्यालयका तीनकोठे भवन, १७ ओटा विद्यालयका चारकोठे भवन, पाँचओटा विद्यालयका ६ कोठे भवन र ६ ओटा विद्यालयका आठकोठे भवन बनिरहेका छन् । यसका लागि रू. ३२ करोड ८० लाख ४८ हजार छुट्ट्याइएको छ । हालसम्म दुईकोठे १२ ओटा, तीनकोठे ११ ओटा, चारकोठे तीनओटा र आठकोठे एउटा विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ ।
त्यस्तै, एडीबीको ऋण सहयोगमा नेपाल सरकार, शिक्षा मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइमार्फत १४ ओटा प्राथमिक र १४ ओटा माध्यमिक विद्यालय बन्दै छन् । १४ ओटा माध्यमिकमध्ये दुईओटा नमूना विद्यालय बनाइने जिल्ला आयोजना कार्यान्वयन एकाइका सब–इञ्जिनीयर गणेशप्रसाद मैनालीले बताए । १४ ओटा प्राथमिक विद्यालयका लागि ४४ करोड २९ लाख र १४ ओटा माध्यमिक विद्यालयका लागि ८४ करोड ९६ लाख बजेट छुट्ट्याइएको छ । जिल्ला शिक्षा कार्यालयले २६ ओटा आरसीसी चारकोठे भवन, ४० ओटा दुईकोठे ट्रस, २ सय ३ ओटा कक्षाकोठाको मर्मत र ६० ओटा शौचालय निर्माण गरिरहेको जिल्ला शिक्षा अधिकारी डा. दीपेन्द्र गुरुङले बताए ।
विभिन्न निकायबाट राम्रो सहयोग मिलेकाले बहुवर्षीय योजनाअन्तर्गतका विद्यालयबाहेक अन्य विद्यालयको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको जिल्ला आयोजना कार्यान्वयन एकाइका इञ्जिनीयर शोभित श्रेष्ठले बताए । ‘लक्षित योजना र समयअनुसार नै काम भइरहेको छ,’ उनले भने, ‘कुनै ठाउँमा पुनर्निर्माणको काम सम्पन्न भई विद्यालय हस्तान्तरण पनि गरिसकेका छौं भने कुनै ठाउँमा निर्माण जारी छ ।’




