Latest posts by अभियान संवाददाता (see all)
कास्की । प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी आन्दोलनलाई उत्पादनको आन्दोलनसँग जोड्नुपर्ने बताएका छन् । मुलुकको आर्थिक विकासका लागि तीनखम्बे मेरुदण्डमध्ये एउटा मेरुदण्डका रूपमा रहेको सहकारी क्षेत्रले सङ्कलित पूँजीलाई समृद्धिको अभियानमा लगाउन उनले आग्रह गरेका हुन् ।
सेण्ट्रल को–अपरेटिभ प्रेसिडेण्ट सोसाइटी (कोप्स)को आयोजनामा पोखरामा बिहीवारदेखि शुरू भएको ‘को–अपरेटिभ इन्भेष्टमेण्ट समिट’को बृहत् लगानी सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले सहकारीको पूँजीलाई विकासमा लगाउन सकिने बताएका हुन् ।
‘४ नम्बर प्रदेशको सहकारी क्षेत्रसँग रू. ६५ अर्ब पूँजी छ,’ उनले भने, ‘त्यो पूँजीलाई कृषि क्षेत्रको उत्पादन र ठूला आयोजनामा लगानी गरी आर्थिक समृद्धितर्फ लाग्नुपर्छ ।’ २ दिनसम्म चल्ने सम्मेलनमा लगानीको लागि कोप्स मोडल स्थापित गर्ने, बृहत् लगानीको वातावरण बनाउने, देशलाई उत्पादनमार्फत औद्योगिक क्रान्तिको दिशामा अघि बढाउने, विभिन्न प्रोजेक्ट बैङ्कबारे छलफल तथा निर्णय हुनेछ ।




