चैत १८, जाजरकोट । जाजरकोट जिल्लाको आर्थिक गणना आगामी वैशाख १ गतेदेखि शुरु हुने भएको छ । जिल्लामा आर्थिक गणना कार्यालय स्थापना गरेर व्यवस्थापकीय काम शुरु गरिएको हो । समग्र आर्थिक क्रियाकलापको स्थिति पत्ता लगाउन चैत १ गतेदेखि व्यवस्थापकीय काम शुरु गरिएको छ ।
२०७५ साल असार मसान्तमा आर्थिक गणना सक्ने गरी वैशाख १ देखि गणक फिल्डमा खटाइने तयारी गरिएको आर्थिक गणना कार्यालय जाजरकोटका आर्थिक गणना अधिकृत जनक बोहराले बताए । कार्यालयले प्रशासनिक निकाय र घुमन्ते आर्थिक कारोबार गर्नेबाहेक सम्पूर्ण व्यापारिक प्रतिष्ठानको तथ्याङ्क सङ्कलन गर्नेछ । यसमा व्यापारिक प्रतिष्ठानकोे परिचयात्मक विवरण, आम्दानी, कारोबार विवरण, ऋणमा पहुँच कारोबारसम्बन्धी विवरण सङ्कलन गरी आर्थिक तथ्याङ्क सङ्कलन गरिने छ ।
आर्थिक गणना अन्तर्गत खानी तथा उत्खनन, औद्योगिक उत्पादन, वित्तीय तथा बीमा, विद्यालय, कलेज, गैरसरकारी संस्था अर्धसरकारी निकाय, प्राइभेट लिमिटेड, उपभोक्ता समितिलगायतका क्षेत्रको विवरण सङ्कलन गरिने जिल्ला आर्थिक गणना कार्यालयले जानकारी दिएको छ । रासस




