हरेक मानिस सबै कुरामा पोख्त हुँदैन । सबैमा केही खुबी हुन्छ भने केही अवगुण पनि हुन्छ । कहिलेकाँही हामी जानीजानी गल्ती गर्छौं अनि कहिले नजानेर । यो मानवीय स्वभाव नै हो । यही स्वभावलाई बुझेर केही समयअघि फ्रान्सको संसद्ले त्यहाँका नागरिकलाई गल्ती गर्ने अधिकार नै दिएको थियो । तर, यसो भन्दैमा बारम्बार एउटै गल्ती दोहो¥याउनु चाहिँ हुँदैन । विगतमा आफूले गरेको गल्तीबाट पाठ सिकेर भविष्यमा त्यस्ता गल्ती घटाउन सकिन्छ । यस्तो उपाय अपनाएर हाम्रो दैनिक जीवनमा घर परिवार र साथीभाइसँगको व्यवहारमा मात्रै होइन कार्यालयमा आफ्नो प्रदर्शन सुधार्न समेत काम लाग्छ ।
पहिला गरेका गल्तीहरूलाई मनन गर्ने, आफू कहाँनेर चुकिएछ भनेर केलाउने गर्दा प्रदर्शन बढ्ने हालै भएको अध्ययनले पनि देखाएको छ । र, त्यही अध्ययनले यस्तो कसरी हुन्छ भन्ने व्याख्या पनि गरेको छ । गल्तीबारे आलोचनात्मक तरीकाले लेख्ने बानीले तनाव उत्पन्न गराउने हार्मोन अर्थात् कोर्टिसलको स्तर कम गर्छ र नयाँ चुनौतीपूर्ण काम गर्दा बढी सावधान÷सचेत हुने बानीको विकास गर्ने भएकाले प्रदर्शन राम्रो हुने अमेरिकी अनुसन्धाताहरूले पत्ता लगाएका छन् । विगतको गल्तीबारे लेख्ने र यसबाहेक गहन विचार गर्ने बानीसँग तनावको स्तर र प्रदर्शन क्षमताबीच सम्बन्ध देखाउने यो पहिलो अनुसन्धान हो ।
चुनौतीपूर्ण काम र स्थितिको सामना गर्दा शान्त भएर बस्नुपर्छ भन्ने सल्लाह हामीले बारम्बार पाएका छौं । नकारात्मक भावना वा दुःखदायी घटनाप्रति ध्यानमार्पmत वा लेखेर मन्थन गर्ने बानी गर्दा यसबाट सकारात्मक परिणाम आउने अध्ययनहरूले देखाएका छन् । यस्तो ‘काउण्टर–इण्ट्युटिभ’ दृष्टिकोण अपनाएर पनि कसरी लाभ हुन्छ होला र ? भन्ने प्रश्न तपाईंको मनमा आउला । यो प्रश्नबारे अनुसन्धान गर्न नेवार्कस्थित रट्गर्स युनिभर्सिटीमा विद्यावारिधि गरिरहेका ब्राइन डिमेनिचीले युनिभर्सिटी अफ पेन्सल्भेनिया र ड्युक युनिभर्सिटीका अन्य अनुसन्धाताहरूसँग मिलेर २ ओटा समूहमाथि अध्ययन गरेका थिए । अध्ययनमा विगतका गल्तीबारे लेख्ने बानीले भविष्यको प्रदर्शनमा पार्ने प्रभावको परीक्षण गरिएको थियो ।
यस क्रममा दुवै समूहको सलाइभरी कोर्टिसोल स्तर मापन गरियो । एउटा परीक्षण समूहलाई विगतमा आफूले गरेको गल्तीबारे लेख्न लगाइयो र अर्को समूहलाई चाहिँ आफूसँग सम्बन्धै नभएका विषयमा लेख्न भनियो । यसपछि अनुसन्धाताहरूले फेरि दुवै समूहका मानिसहरूले अनुभव गरेको तनावको स्तर मापन गरे । यस क्रममा आफूलाई मन लागेको कुरा लेख्ने दोस्रो समूहको तुलनामा विगतमा आपूmले गरेको गल्तीबारे लेख्ने पहिलो समूहको कोर्टिसोल स्तर निकै घटेको पाइयोे । परीक्षणको शुरूमा दुवै समूहको कोर्टिसोल स्तर समानजस्तै थियो । ‘लेखेकै भरमा तनावप्रति शरीरले देखाउने प्रतिक्रियामा सोझो असर परेको हामीले पाएनौं, तर हाम्रो नतीजाले के चाहिँ देखाएको छ भने आफूले विगतमा गरेको गल्तीबारे लेख्ने हो भने भविष्यमा तनावमय स्थिति उत्पन्न हुँदा त्यसप्रति शरीरले देखाउने प्रतिक्रिया तनावको सामना नै नगरेको मानिसको जस्तैजस्तै हुँदो रहेछ,’ डिमेनिचीले भने ।
विगतका गल्तीबारे लेख्ने समूह नयाँ कामप्रति बढी सचेत रहेको र समग्रमा उनीहरूको प्रदर्शन अर्को समूहको भन्दा राम्रो भएको पाइयो । यी सबै कुराले विगतका गल्तीबारे लेख्ने र आलोचनात्मक ढङ्गले सोच्ने गर्दा व्यक्ति नयाँ चुनौतीका लागि मानसिक र बौद्धिक रूपमै तम्तयार रहने निष्कर्ष डिमेनिचीले निकालेका छन् । जीवनयापनका क्रममा हरेक मानिसले जीवनको कुनै न कुनै मोडमा अवरोध र तनावको सामना गरेका हुन्छन् । तर, त्यस्ता स्थितिसँग जुझेर आगामी दिनमा कसरी राम्रो प्रदर्शन गर्न सकिन्छ भन्ने कुरा यस अध्ययनले सिकाएको छ । प्रतिवेदनमा उल्लेख गरिएको तरीकाहरू शिक्षा, खेललगायत विभिन्न क्षेत्रमा प्रदर्शन सुधार्न काम लाग्ने डिमेनिची बताउँछन् । अध्ययनको प्रतिवेदन मार्च २३ मा फ्रण्टियर्स इन बिहेभरियल न्यूरोसाइन्समा पनि छापिएको थियो ।