जनकपुरधाम । ढल्केवर—जनकपुर—जटहीसम्मको ६ लेन सडक निर्माणमा अवरोध भएको छ । स्थानीयको अवरोधको कारण सडक कालोपत्र बीचमै रोकिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, जनकपुर परिक्रमा, व्यापारिक मार्ग विस्तार योजना (जटही—जनकपुर) बर्दिबास, महोत्तरी र जिल्ला प्रशासन कार्यालय धनुषाले एकलौटी रूपमा आप्mनो घरको संरचना भत्काउन पत्र दिएको भन्दै स्थानीय केही व्यक्ति अदालत पुगेका छन् ।
जनकपुर–१२ निवासी शत्रुधन साह कलवारसहित १२ जनाले सरकारी नियमभित्रै रहेर घर बनाएको हुँदा आप्mनो घर सडकभित्र नरहेको भन्दै उच्च अदालत जनकपुरमा रीट निवेदन दायर गरेका हुन् । उनीहरूले जिप्रका धनुषा र आयोजनालाई विपक्षी बनाएका छन् । स्थानीयको उजुरीपछि अदालतले अर्को निर्णय नभएसम्मका उक्त सडकखण्डको घर नभत्काउन र भत्काउनै पर्ने कारणसहित अदालतमा पेश हुन आदेश दिएको छ ।
अदालतको आदेशपछि उक्त सडकहरू निर्माण कार्य बीचमै रोकिएको आयोजनाका प्रमुख इञ्जिनीयर दीपेन्द्र पाण्डेले जानकारी दिए । झण्डै ७ अर्ब रुपैयाँको लगानीमा जटही—जनकपुर—ढल्केवरसम्म ४० किलोमिटर लामो र ६ लेनको सडक पाँच प्याकेजमा निर्माणाधीन छ । उक्त सडकको पहिलो चरणमा जनकपुर—जटहीसम्मको सडक खण्ड दुई प्याकेजमा निर्माणाधीन छ । दोस्रो चरणमा जनकपुर—ढल्केवरसम्मको ६ लेन सडक दुई प्याकेजमा धमाधम निर्माण हुँदै छ भने तेस्रो चरणमा जनकपुर नगरभित्र १ किमी सडक निर्माणाधीन छ ।




