रुकुम (अस) । पश्चिम रुकुममा उत्पादित अदुवा विक्री नहुँदा कुहिन थालेको छ । त्रिवेणी गाउँपालिकाका रुँघा, खारा, मुरु, पेउघा, नुवाकोटलगायतका क्षेत्रमा उत्पादित अदुवा विक्री नभएको हो ।
त्रिवेणी गाउँपालिका–८ का रमेश खड्काले भने, ‘अदुवा खरीद गर्न कुनै पनि कम्पनी तथा व्यापारीहरू आएका छैनन् ।’ गाउँमा अदुवा सङ्कलन केन्द्रसमेत छैन । गतवर्ष करीब २ हजार २ सय रुपैयाँ प्रतिक्विण्टलमा विक्री भएको अदुवाको यस वर्ष मूल्यसमेत घटेको छ । चालू आर्थिक वर्षमा मुश्किलले १ हजार ५ सय रुपैयाँ प्रतिक्विण्टल मूल्य रहेको स्थानीय व्यापारीले जानकारी दिए । विगतका वर्षमा दाङ, बाँके, काठमाडौंलगायतका जिल्ला र भारत, श्रीलङ्का र भुटानजस्ता देशमा समेत अदुवा निर्यात गरेका किसानलाई यस वर्ष अदुवा नबिक्ने चिन्ताले सताउन थालेको छ ।
अघिल्ला वर्षमा अदुुवाले राम्रो बजार पाएपछि अन्नबाली छोडेर रुकुमका २ सय ५० भन्दा बढी किसान अदुवा खेती गर्न हौसिएका थिए । तर, अदुवा लगाउँदा सम्झौता भए पनि सम्झौता गरेका कम्पनी किसानसमक्ष नआएको उनीहरूको गुनासो छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार रुकुमको १ सय ३७ हेक्टर जमीनमा अदुवा खेती हुने गरेको छ । यहाँ वार्षिक झण्डै १४ हजार मेट्रिक टन अदुवा उत्पादन हुने गर्दछ ।




