रोशनी भट्टराई
विराटनगर । पूर्वाञ्चलमा अझै पनि १३ दशमलव ७४ प्रतिशत विद्युत् चुहावट हुने गरेको पाइएको छ । विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय विराटनगरका अनुसार गत आर्थिक वर्ष २०७३/७४ मा विद्युत् चुहावटको प्रतिशत १७ दशमलव ६५ थियो । गत वर्षभन्दा यस वर्षको माघसम्मको तथ्याङ्कअनुसार चुहावटको दर ३ दशमलव ९१ प्रतिशतले घटेको छ ।
विद्युत् प्राधिकरणले गतवर्षको तुलनामा यस वर्ष महशुल असुलीमा पनि प्रगति गरेको छ । प्राधिकरणले गत आर्थिक वर्ष ७३ करोड ८९ लाख ९९ हजार ८ सय १३ युनिट विद्युत् विक्री गरेको थियो, जसबाट ६ अर्ब ९६ करोड ६३ लाखरुपैयाँ महशुल उठाएको थियो । चालू आवको माघसम्ममा भने प्राधिकरणले ४७ करोड २१ लाख ८९ हजार युनिट विद्युत् विक्री गरी रू. ४ अर्ब ५३ करोड ६६ लाख महशुल उठाएको छ ।
गत आवमा पूर्वाञ्चलमा ५ लाख ६२ हजार ग्राहक थिए भने चालू आवमा ५ लाख ९९ हजार पुगेको कार्यालयले जानकारी दिएको छ । कार्यालयका प्रमुख सच्चिदानन्द यादवले पूर्वमा अहिलेको विद्युत् माग २ सय मेगावाट रहेको बताए । पूर्वका जिल्लामा निर्माण भएका विद्युत् आयोजनाबाट १ सय २ मेगावाट विद्युत् उत्पादन हुने गरेको छ । यद्यपि, केन्द्रीय प्रसारण लाइनमा भने आन्तरिक उत्पादनबाट पुवाखोलाको ३ मेगावाट र काबेली कोरिडोर तथा सङ्खुवासभाको तिरतिरेबाट २७ मेगावाट विद्युत् मात्रै जोडिएका छन् । यसबाहेक भारतबाट पूर्वाञ्चलका लागि १ सय ३५ मेगावाट विद्युत् आपूर्ति भइरहेको यादवले बताए ।
पूर्वमा अन्य उत्पादन केन्द्रबाट १ सय २ दशमलव ६ मेगावाट विद्युत् उत्पादन हुन्छ । त्यसमध्ये चतरा केन्द्रको ३ मेगावाटको विद्युत् आयोजना भने हाल बन्द छ । कार्यालयका अनुसार पूर्वमा अझै २७ प्रतिशत जनता विद्युत् उपभोग गर्नबाट वञ्चित छन् । यादवका अनुसार विद्युत् प्राधिकरणले पूर्वको जलस्रोतको अधिकतम उपयोग गर्ने रणनीति लिएको छ ।
६ सय ५२ मेगावाट विद्युत् उत्पादनको अनुमति
क्षेत्रीय कार्यालयका अनुसार पूर्वाञ्चलका ३ ओटा विद्युत् उत्पादन कोरिडोर क्षेत्रबाट आर्थिक वर्ष २०७८/७९ सम्ममा ६ सय ५२ दशमलव शून्य ६ मेगावाट विद्युत् उत्पादनको अनुमति निजीक्षेत्रले लिएको छ । सोलु कोरिडोरअन्तर्गत ३ सय २५ मेगावाट, कोशी कोरिडोरअन्तर्गत १ सय ४० दशमलव शून्य ७ मेगावाट तथा काबेली कोरिडोरअन्तर्गत १ सय ८६ मेगावाट रहेको छ । यसबाहेक ३ हजार ७ सय २२ दशमलव १७ मेगावाट क्षमताका विभिन्न विद्युत् आयोजनाले सर्वे अनुमतिपत्र लिएका छन् ।




