डाटा स्टोर गर्ने उपायहरू

काठमाडौं । कम्प्युटरको हार्डडिस्क क्र्याश भयो भने तनाव हुन्छ । हार्डडिस्क बिग्रेको दिनदेखि नै कसरी रिकभर गर्न सकिन्छ भनेर गूगल सर्च गर्दागर्दै दिन बित्न थाल्छ । वर्षौंदेखि सङ्कलन र सुरक्षित गरेका डाटाहरू हराएपछि यस्तो अवस्था आउनु स्वाभाविक पनि हो । सङ्कलन र सुरक्षित गरेका डाटा किन्न नपाइने भएकाले यस्तो अवस्था आउँछ । हार्डडिस्क बिग्रनु र डाटा बिग्रनु भिन्नाभिन्नै समस्या हुन् । डाटा बिग्रनुको प्रमुख कारण भाइरसको आक्रमण हो । कम्प्युटरमा धेरै समस्या हार्डडिस्कमा नै आउँछ । सस्तो तरीकाबाट हार्डडिस्कमा भएको डाटा बचाउन पनि प्रायः गाह्रो हुन्छ । महँगो सफ्टवेयरको प्रयोग गरेर यदाकदा डाटा रिकभर गर्न पनि सकिन्छ । तर, पहिलेको जस्तो स्तरीय र सहज किसिमको फाइल नहुन सक्छ । डाटालाई पूर्णरूपमा क्षति भए पनि रिकभर गर्न भने पहिले नै केही सावधानी अपनाउनुपर्छ । पेनड्राइभमा सेभ गर्ने : महत्त्वपूर्ण डाटालाई एक ठाउँमा मात्र नराखी धेरै ठाउँमा सेभ गर्दा समस्या परेको बेला त्यसले सहज बनाइदिन्छ । पेनड्राइभमा राख्न ब्याकअप प्रविधि नभए पनि यसले डाटा क्र्याश भएको बेला सजिलो बनाइदिन्छ । पेनड्राइभमा डाटा सेभ गर्ने क्रममा जहाँ पायो, त्यहाँको कम्प्युटरमा त्यसलाई घुसाउनु हुँदैन । भाइरस नभएको कम्प्युटरमा मात्र यसको प्रयोग गर्दा डाटा सुरक्षित हुन्छ । पेनड्राइभमा फोल्डर नै कपी गर्दा भाइरस पनि सर्ने डर हुन्छ । त्यसैले, सकेसम्म एउटा एउटा गरेर फाइल कपी गर्दा सुरक्षित हुन सकिन्छ । फाइल कपी दु्रत गतिमा गर्न टु प्वाइण्ट जेरो वा थ्री प्वाइण्ट जेरो स्पीड भर्शनको पेनड्राइभ छनोट गर्नुपर्छ । सीडी वा डीभीडीको प्रयोग : हुन त अहिले सीडी र डीभीडीको प्रयोग कमै मात्र हुन थालेको छ । तुलनात्मक रूपमा डीभीडी सस्तो हुने भएकाले यो पनि डाटा राख्न सजिलो माध्यम भएको छ । यसमा डाटा राख्दा पेनड्राइभभन्दा भाइरसको हिसाबले धेरै नै सुरक्षित हुन्छ । यसमा डाटा कपी गर्न भने अलि कठिन नै हुन्छ अर्थात् पेनड्राइभमा जस्तो सजिलो हुँदैन । डीभीडी लामो समयसम्म प्रयोग गर्दा कोरिने सम्भावना हुन्छ । त्यसैले, यसतर्फ पनि सजग हुनुपर्दछ । डीभीडी सकेसम्म ८ जीबीको प्रयोग गर्नुपर्छ । आफूले प्रयोग गर्ने कम्प्युटरमा प्रयोग गर्ने डीभीडी रोम पनि डीभीडी राइट र रिड गर्ने खालको हुनुपर्छ । एक्ष्टर्नल हार्डडिस्क : यो बाहिरबाट जोड्न मिल्ने हार्डडिस्क हो । यसलाई डाटा ब्याकअप डिभाइसको रूपमा प्रयोग गर्न सकिन्छ । बाहिर जोडन मिल्ने र ब्याकअप गरिसकेपछि सुरक्षित ठाउँमा सजिलै खोलेर राख्न मिल्ने हुँदा यसलाई पनि राम्रो ब्याकअप डिभाइसको रूपमा लिन सकिन्छ । यसको प्रयोग गर्दा भाइरस स्क्यान अनिवार्य रूपमा गरियो भने यसमा भएको डाटा बिग्रिने सम्भावना न्यून हुन्छ । थप हार्डडिस्क : कम्प्युटरभित्र नै थप एउटा हार्डडिस्कको प्रयोग गर्‍यो भने एउटा बिग्रँदा अर्कोले टेवा दिन्छ । यसले कम्प्युटरलाई अलि स्लो गर्न सक्ने भएकाले पहिले नै जानकारहरूसँग बुझेर मात्र उपयोग गर्नुपर्छ । कतिपय अवस्थामा हार्डडिस्कसँगै मेमोरीको क्षमता पनि बढाउनुपर्ने हुन सक्छ । आईक्लाउड वा गूगल ड्राइभको प्रयोग : जुनसुकै बेला पनि जहाँ पनि डाटा रिकभर गर्नुपर्ने वा हेर्नुपर्ने भए डाटालाई आईक्लाउड वा गूगल ड्राइभमा स्टोर गर्नु राम्रो हुन्छ । तर, यसमा पासवर्डलाई स्ट्रङ्ग गर्नुपर्ने हुन्छ । गोप्य डाटालाई आईक्लाउड वा गूगल ड्राइभमा राख्दा ह्याकर वा नजीकैका साथीले ह्याक गर्ने सम्भावना रहन्छ । गोप्य नभई महत्त्वपूर्ण मात्र भए आईक्लाउड वा गूगल ड्राइभमा राखे आवश्यक परेको बेला जहाँबाट पनि पहुँच पुग्छ । तर, यसमा डाटा स्पेस न्यून हुने हुँदा समस्या हुन सक्छ । … Continue reading डाटा स्टोर गर्ने उपायहरू