काठमाडौं । नेपाल र जर्मनीबीच सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेकोे अवसर पारेर नेपालमा जर्मनीको प्रसिद्ध बियर ब्राण्ड भार्स्टाइनरको उत्पादन, विक्री र वितरण शुरू गरिएको छ । जर्मन प्रविधिमा उत्पादित यो बियरको नेपालमा उत्पादन जावलाखेल ग्रूप अफ इण्डष्ट्रिजअन्तर्गतको राज ब्रुअरीले नवलपरासीको रामग्राम–८ हाकुईमा अवस्थित कारखानावाट शुरू गरेको हो । नेपालमा शुरू भएको घोषणा गर्न गत चैत २२ गते उद्योग परिसरमा आयोजित औपचारिक कार्यक्रममा भास्र्टाइनर ग्रूपकी बोर्ड अध्यक्ष तथा मालिक क्याथरिना क्रेमरले नेपालमा भार्स्टाइनर बियरको उत्पादन शुरू गर्ने अवसर पाएकोमा खुशी व्यक्त गरिन् । ‘भार्स्टाइनर ब्राण्ड जर्मनीको सबैभन्दा सफल ब्रुअरीमध्ये एक हो । जावलाखेल ग्रूप अफ इण्डष्ट्रिज पनि नेपालको मदिरा उद्योगमा एक सफल अग्रणी कम्पनी हो । साथै, भार्स्टाइनर र राज ब्रुअरी दुवै फेमिली बिजनेश भएकाले पनि यो पार्टनरशिप सम्भव भएको हो,’ उनले भनिन् ।
३ महीनाअघि नै बजारमा पुर्याउन शुरू गरिएको उद्योगको उत्पादनलाई उपभोक्ताले निकै रुचाएको कम्पनीका प्रबन्ध निर्देशक राजबहादुर शाहले बताए । उद्योगले वर्षमा ६० हजार हेक्टोलिटर अथवा दैनिक ५ हजार केस बियर उत्पादन गर्छ । एक केसमा ६ सय ५० मिलिलिटरको १२ ओटा बोतल हुन्छन् । उद्योग अरू प्लाण्ट थप्ने तयारीमा छ । सोही कार्यक्रममा जर्मन दूतावासका डेपुटी चिफ अफ मिशन क्लाउडिया हीपेले नेपाल र जर्मनीबीच सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको अवसरमा जर्मन बियर उत्पादन गर्ने उद्योग नेपालमा सञ्चालन हुुन थाल्नु गौरवको विषय भएको बताइन् । यसले दुवै देशको आर्थिक सम्बन्धलाई थप सबल पार्न सघाउने उनले अपेक्षा गरिन । ‘जर्मन प्रविधि नेपाल भित्रिएको छ,’ हीपेले भनिन्, ‘यसले विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न थप आकर्षित गर्न सघाउनेछ ।’ उद्योगको प्लाण्ट निर्माण गर्ने जीईए ब्रुअरी सिष्टम्स, जर्मनीका सेल्स म्यानेजर योर्गेन डेटिृचले भने, ‘राजबहादुर शाहले नेपालमा यति महँगोमा यति ठूलो बियर उद्योग खोल्लान् भनेर विश्वासै लागेको थिएन । हिमालै हिमालको बीचमा बियर कसरी बेच्लान् भनेर शुरूमा विश्वास नलागेको तर उनले आफ्नो सपना पूरा गरेर देखाए ।’
भार्स्टाइनर ग्रूप जर्मनीको अग्रणी स्वतन्त्र ब्रुअरी हो । पारिवारिक व्यवसायका रूपमा यसले बियर उत्पादन गर्दै आइरहेको छ । भार्स्टाइनर बियरको शुरुआत २ सय ६५ वर्षपहिले सन् १७५३ मा भएको थियो । भार्स्टाइनर प्रिमियम बियर ६० भन्दा बढी अन्तरराष्ट्रिय बजारमा उपलब्ध छ । यसको उत्पादन भने जर्मनी र अर्जेण्टिनामा मात्र भइरहेकोमा अब नेपालमा पनि शुरू भएको छ । यो ग्रूप ‘बेष्ट अफ दि बेष्ट’ नाराका साथ अगाडि बढिरहेको छ । राज ब्रुअरी प्रालि जावलाखेल ग्रूप अफ इण्डष्ट्रिजअन्तर्गतको कम्पनी हो । यो ‘ह्यापिनेस एण्ड बण्डिङ’ नाराका साथ अगाडि बढिरहेको छ ।

झण्डै ४ अर्ब रुपैयाँ लगानीमा सञ्चालित यस उद्योगमा २ वर्षभित्र
करीब २ अर्ब रुपैयाँ लगानी थपिने प्रबन्ध निर्देशक राजबहादुर शाहले बताए । ‘बियर उद्योग स्थापना गर्न लागेको खर्चको ७५ प्रतिशत रकम ५ वर्षमा उठाउने लक्ष्य रहेको छ,’ शाहले भने । अहिले नै सम्भव नभए पनि भविष्यमा एशियाली बजारमा भास्र्टाइनर बियरलाई पु¥याउने सोच रहेको उनको भनाइ छ । बियरमा प्रयोग हुने तीतो वनस्पति अर्थात् हप्सको खेती मुस्ताङमा गर्न सकिने भए पनि धेरै महँगो पर्ने भएकाले तत्कालै खेती गर्ने सोच नभएको शाहको भनाइ छ । जेजीआई ग्रूपको नीति न्यूनतम १५ प्रतिशत महिला कर्मचारी कामदार राख्ने रहेकोमा यो वर्ष त्यसलाई ३० प्रतिशत गरिने भएको छ । हाल ग्र्रूपमा १ हजार २ सय कर्मचारी छन् । हाल कम्पनीले २ सय ५० जना बजार प्रतिनिधिमार्फत प्रत्येक दिन १ हजार पसलमा पुगिरहेको शाहले बताए । थप ५ सयजना बजार प्रतिनिधि नियुक्त गर्ने योजना रहेको उनको भनाइ छ ।
जावलाखेल ग्रूप नेपाली विज्ञापन बजारमा सबैभन्दा धेरै खर्च गर्ने कम्पनीहरूमध्ये एक हो । जावलाखेल ग्रूपले सबै ब्राण्डका लागि ट्रेड डिस्काउण्ट र पब्लिसिटीका लागि भनेर वार्षिक झण्डै डेढ अर्ब रुपैयाँ खर्च गर्ने गरेको बताइएको छ । साथै, नेपालमा आयोजना हुने ठूला कार्यक्रम मिस नेपाल, क्रिकेट, फूटबललगायतको प्रायोजनसमेत गर्दै आएको छ ।

कसरी छानियो भार्स्टाइनर बियरलाई
जर्मनीमा ४ हजार ब्राण्डका बियरको उत्पादन हुन्छ । यीमध्ये भास्र्टाइनर बियर नेपाली स्वादसँग मिल्ने भएकाले छनोट गरिएको राज ब्रुअरीकी अध्यक्ष म्यागी शाहले बताइन् । साथै, अन्य ब्राण्डका बियरको तुलनामा यसको मूल्य पनि कम रहेको उनको भनाइ छ । बियरको मूल्य प्रतिगोटा २ सय ९५ नेपाली रुपैयाँ रहेको छ । गुणस्तरीय बियर उत्पादनका लागि आवश्यक पर्ने मुख्य तीन चिज ‘उत्कृष्ट उद्योग (प्लाण्ट), गुणस्तरीय कच्चा पदार्थ र अनुभवी टिम’ राज ब्रुअरीसँग रहेको शाहले बताइन् । ब्रुअरीका कर्मचारीलाई समेत तालीमका लागि जर्मनी पठाइएको पनि शाहले जानकारी दिइन् । भास्र्टाइनर बियरको उद्योगमा जर्मन प्लाण्ट लगाएकोले जति लगानी भएको छ त्यतिकै लगानी गरेर भारतीय प्लाण्ट लगाएको भए १२ ओटा यस्ता उद्योग स्थापना हुन सक्ने भएकाले यो प्लाण्ट यसरी एशियामै एक उत्कृष्ट बियर फ्याक्ट्री बनेको बताइएको छ । उद्योगले आफ्ना उत्पादनको गुणस्तर जाँच आफ्नै ल्याबबाट गर्छ । बेलाबेलामा जर्मनीबाट पनि गुणस्तर जाँच हुने प्रबन्ध निर्देशक राजबहादुर शाहको भनाइ छ । राज ब्रुअरी करीब वार्षिक १५ लाख केस उत्पादन गर्न सक्ने गरी बनाइएको छ ।

नेपालको बियर बजारको अवस्था
नेपालमा वार्षिक ५ अर्ब रुपैयाँबराबरको करीब १ लाख १ सय ३५ हजार केस बियर विक्री भइरहेको छ । ‘नेपालमा वार्षिक करीव २५ प्रतिशतले बियरको बजार बढिरहेको छ,’ शाहले भने, ‘अहिले बजारमा स्थापित हुने राम्रो मौका छ ।’ नेपालमा बियरको उपभोग वृद्घिदर संसारकै सबैभन्दा बढी रहेको छ । भारतको भन्दा ५ सय प्रतिशतले उपभोग बढी छ, अहिले ४० हजार पसलेले नेपालमा बियर विक्री गरिरहेको उनले जानकारी दिए । बियर विक्री गर्ने टाईअप आउटलेट काठमाडौंमा मात्रै सयौं सङ्ख्यामा रहेको उनले बताए ।
नेपालमा क्यान बियरको बजार १५ प्रतिशतले वृद्घि भइरहेको बताइएको छ । क्यान बियर ३ सय ३० र ५ सय मिलिलिटरको क्यानमा उपलब्ध छ । नेपालमा क्यान बियरको उत्पादन गोर्खा, एभरेष्ट, टाईगर, यति र नेपाल सन गोल्ड बु्रअरीले गर्दै आइरहेका छन् । नेपालको तराई क्षेत्रमा स्ट्रोङ बियरको विक्री बढी छ । त्यस्तै काठमाडौं, पोखरा, नारायणघाट, बुटवल, भैरहवालगायत शहरमा भने माइल्ड बियरको विक्री बढी हुन्छ । स्ट्रोङ बियरमा ८ र माइल्ड बियरमा ५ प्रतिशत अल्कोहलको मात्रा हुन्छ । नेपाली बजारमा स्ट्रोङ बियरको बजारहिस्सा ५४ प्रतिशत र माइल्ड बियरको ४६ प्रतिशत रहेको बताइएको छ । नेपाली बजारमा बिदेशबाट वर्षमा करीब २५ हजार केस हेनिकेन, बुडवाईजर, स्टेला, करोनालगायत बियर क्यान तथा ३ सय ५० मिलिलिटरका बोतलमा आयात हुने गरेको छ ।

सामाजिक उत्तरदायित्व
जेजीआईले प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा सबैभन्दा धेरै रकम सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत यसले आफ्ना ७५ जना भूकम्पपीडित कर्मचारीको घरसमेत बनाइदिएको शाहले बताए । साथै, कम्पनीले गत भूकम्पपछि क्षति व्यहोरेका आफ्ना डिष्ट्रिब्युटर तथा होलसेलरलाई बीमावाट प्राप्तबाहेक आफूले पनि उचित क्षतिपूर्ति गरिदिएको बताएको छ ।
चुनौती
बियरको गुणस्तरमा एकरूपता कायम राख्न चुनौती रहे पनि आफूहरूले गुणस्तरलाई पहिलो प्राथमिकतामा राखेको प्रवन्ध निर्देशक राजबहादुर शाहले बताए । ‘गुणस्तरमा कुनै सम्झौता गर्दैनौं,’ उनले भने । गुणस्तर जाँचका लागि चाहिने सबै उपकरणसहितको अत्याधुनिक ल्याब नेपालमा पनि रहेको र आवश्यक पर्दा जर्मनीबाट पनि सहयोग लिन सकिने उनले बताए ।
यो बियरको प्रसिद्घिका कारण डराएका नेपालका केही बियर कम्पनीले यो बियर बजारमा स्थापित नहोस् भनेर कतिपय प्रिमियम रेष्टुराँलाई १० लाखदेखि ५० लाख रुपैयाँसम्म दिएको आफूले थाहा पाएको पनि प्रबन्ध निर्देशक शाहले बताए ।
विशेषता
- एशियाकै उत्कृष्ट जर्मन प्रविधिको प्लाण्ट स्थापना
- नेपालमा यसको उत्पादनदेखि उपभोक्तासम्म पुग्दा जर्मनीको शुद्धतासम्बन्धी कानूनको पालना गरिएको
- भार्स्टाइनर बियर जर्मनीको टेष्ट नोटअनुसार नै नेपालमा उत्पादन गरिएको
- बियर पिउन जर्मनीबाटै ल्याइएका ‘टुलिप ग्लास’ (तलबाट माथितिर फुकेको गिलास)को वितरण
- नेपालका होटल/रेष्टुराँलाई चिसो बियर गिलासमा राख्ने, सर्भ गर्ने तरीकाहरूबारे तालीम दिइएको
- गुणस्तर कायम राख्न उद्योगले बियर बनाउन आवश्यक सबै कच्चा पदार्थ जर्मनीबाटै ल्याउने व्यवस्था
- ३० वर्षभन्दा बढी अनुभव भएका बियर उत्पादन गर्ने प्राविधिक (ब्रु माष्टर) दुईजना विदेशी



