‘न्यूरोड गेट, हाम्रो क्याफेमा भेट’ । यो नारा हो गत साउनदेखि सञ्चालनमा आएको ‘हाम्रो क्याफे एण्ड रेष्टुराँ’को । न्यूरोड गेटबाट करीब एक मिनेटको दूरीमा रहेको यो क्याफे केही फोटो पत्रकार र केही रेष्टुराँ व्यवसायीको संयुक्त लगानीमा सञ्चालित छ । क्याफेमा टिपिकल नेपाली खानाका साथै नेवारी खाजा सेट, नेपाली थकाली सेट, सेकुवा एण्ड तास, इण्डियन, चाइनिज परिकारको स्वाद लिन सकिन्छ । यसबाहेक ब्राण्डेड स्वदेशी तथा विदेशी पेय पदार्थको व्यवस्था त यसमा छ नै । क्याफेका भित्तामा झुण्ड्याइएका आकर्षक तस्वीरले त्यहाँ पुग्ने सबैलाई ‘आर्ट ग्यालरी’को झझल्को दिन्छ । घरायसी तथा कार्यालयका कर्मचारीका लागि हरेक दिन भिन्न परिकारका ‘स्न्याक्स बक्स’को व्यवस्था क्याफेको विशेषता हो ।
मिटिङ, सेमिनार, बर्थ डे पार्टी वा साथीभाइसँग रमाइलो जमघट गर्न चाहनेका लागि पनि क्याफे उपयुक्त गन्तव्य हुन सक्छ । क्याफेमा आयोजना गरिने पार्टी तथा सेमिनारको फोटो खिच्ने व्यवस्था पनि गरिएको सञ्चालकमध्येका एक फोटोपत्रकार हरिप्रसाद रेग्मीले बताए । खिचिएका तस्वीर ग्राहकलाई निःशुल्क उपलब्ध गराइने उनले जानकारी दिए ।
क्याफेले निकट भविष्यमै नौबीसेमा सञ्चालित आफ्नै कृषि फार्ममा उत्पादन गरिएका अग्र्यानिक उत्पादनलाई मेनुमा स्थान दिने तयारी गरिरहेको छ । क्याफेमा आउटडोर पिकनिक, समारोह, पार्टी, सभा, अफिसका लागि समेत क्याटरिङको व्यवस्था रहेको अर्का सञ्चालक रेष्टुराँ व्यवसायी कुमार ढुङ्गानाले जानकारी दिए । क्याफेले यही महीनाको मसान्तदेखि प्रत्येक शनिवार ‘फेशन शो’ पनि आयोजना गर्दै छ, जहाँ नेपालका चर्चित मोडलहरूको प्रस्तुति रहनेछ ।
क्याफेलाई आगामी दिनमा फोटो ग्यालरीका रूपमा पनि विकास गर्ने सञ्चालकको योजना छ । कुनै फोटो पत्रकारले आफूले खिचेको फोटो क्याफेमा प्रदर्शनी गर्न चाहन्छ भने क्याफेले निःशुल्क फ्रेमको समेत व्यवस्था गरेको छ ।
करीब १ सय ५० जनासम्म अट्न सक्ने पार्टी तथा सेमिनार हल रहेको क्याफेमा १५ जना कर्मचारी छन् । बिहान ७ देखि ९ बजेसम्म ब्रेक फाष्ट र त्यसपछि बेलुकी ९ बजेसम्म खाना तथा खाजाका लागि क्याफे विशेष मानिन्छ ।










