
Latest posts by मदन लम्साल (see all)
हिजोआज जो पनि सरकारलाई थर्काउन खोज्छन् बा ! हुँदाहुँदा ड्राइभर र खलासीसम्मले पनि थर्काउन थालेका छन् । चिया पसलदेखि फेसबुक, ट्वीटरका वालसम्ममा सरकारले यो गर्नुपर्छ वा त्यो गर्नुपर्छ भनेर थर्काउनेहरू त कति छन् कति ! सरकार पनि के कम ? पहिलोपटक थर्काउनेलाई राम्रै जवाफ फर्कायो र यातायातको सिण्डिकेट कागजमा हटायो । सडकबाट पनि हटाउला नै ।
तर, सिंहदरबारदेखि बागदरबारसम्म, लालदरबार (अर्थात् पेरिसडाँडा दरबार) देखि बल्खु दरबार र सानेपा दरबारसहित लागेर लादेको सर्वत्र चलिरहेको सिण्डिकेट चैं सरकारले तोड्ला वा तोड्न सक्ला र ? बीसौं वर्षदेखि खाईपाई आएको सुविधा नेताहरूले सजिलै छाड्लान् र ? फेरि सरकारमा पुग्नेबित्तिकै, मन्त्री हुनेबित्तिकै मान्छेका कुरा ठूला, तर साँच्चै काम गर्नुपर्दा भने खुट्टा लुला हुने गरेको विगत छ । यसपटक आशा गरौं, सिण्डिकेट तोड्ने कुरामा सरकारले खुट्टा दरै टेक्ला । नत्र आम मानिसलाई ठूलाका कुरा र ‘हात्ती र हात्ती छाप चप्पल उस्तैउस्तै’ भन्ने विज्ञापनमा फरक छुट्याउन गाह्रै पर्छ ।
किनकि यहाँ जाली धेरै भए । यता अर्थात् स्वदेश हुँदा गाली, उता अर्थात् छिमेक देश जाँदा ताली बजाउने बढ्दै गए । देशको खेतबारीमा बाली लाग्दैन । त्यसैले यताको भकारीे खाली छ । युवाका पाखुराहरू खाडीको सम्पन्नता चुल्याउँदै छन् । यता बजारले उपभोगै उपभोगको एक मात्र संस्कृतिमा उसको परिवारलाई भुल्याउँदै छ । त्यसैले सरकारले काम गर्नेलाई थाँक्रो हाले पो काँक्रो फल्छ ।
अर्को कुरा, अरूहरू एक हुँदै गएका छन् । एउटै मुद्रा, एउटै व्यावसाहिक समूह । हामी टुक्रिइरहेका छौं, जात, जाति, धर्म, आरक्षणको कुरा लिएर डुक्रिरहेका छौं । आरक्षण पनि कस्तो ? विनोद चौधरी, जितेन्द्र देवजस्ता आरक्षण कोटामा सांसद हुन्छन् । फेरि सांसद पनि कस्ता ? सांसद र वडाध्यक्ष छुट्याउनै गाह्रो । पद ठूलो हो कि कद वा पैसाको पावर भनेर भेद भेट्टाउनै साह्रो ।
प्रकृतिले त दिएकै थियो नि, पानी, खानी र जवानी । तर, त्यसको उपयोग गर्ने ज्ञानीहरू देशमा नभएकाले पो समस्या पर्यो ।
हाम्रा प्रोफेशनल, न्यायाधीश र पत्रकारहरू पनि यो वा त्यो दलका । अनि देश दलदलमा नफसे कहाँ फसोस् त ! हाम्रा मन्त्री, प्रधानमन्त्रीसमेत सम्पूर्ण जनताका नभै एउटा पार्टीका भरौटेजस्ता । अनि पार्टीभित्र पनि कुनै गुटका, उपगुटका । पार्टीविहीन, गुटविहीन मान्छे अभिभावकविहीन टुहुरोजस्तो । हुँदाहुँदा भाषा र व्याकरणमा समेत फरकफरक समूह । त्यसैले हामी धर्मभित्रको जातजातिमा, वर्गमा, क्षेत्रमा र परिवारमा खण्डखण्ड चाहन्छौं । हामी भूगोलमा खण्डखण्ड चाहन्छौं । हाम्रो विचार चिन्तनमा अखण्ड होइन, सामूहिकता, साझा र सर्वसम्मत पनि होइन, व्यक्तिगत फाइदा मात्र माग्छौं । यसरी जताततै अराजकता र अचाक्ली साह्रो भो । को राष्ट्रवादी को मानवतावादी मान्छे चिन्नै गाह्रो भो ।
रोल्पाको विकासको योजना र्याडिशन होटलको राराहलमा ल्यापटपमा पहाड देखाएर बनाइन्छ । यसैगरी बजेट सकिन्छ । हुँदाहुँदा नयाँ सङ्घीय शासनमा समेत जनप्रतिनिधिहरूले एम्बुलेन्स किन्लान् भनेको त नेताहरूलाई महँगा महँगा कार किन्नतिर पो पहिले लागेको देखियो । अनि आशा चैं कोबाट कसरी जगाउने हो ?
आखिर यो सब किन यस्तो त ?
एक त राजनीतिक नियुक्ति नपाए जीवन नै अधुरो अपूरो ठान्ने जमात ठूलो हुँदै गयो । नियुक्ति दिने दल जिन्दावाद, नदिने मूर्दावाद । हवाई मार्ग, रेल मार्ग होस् वा तेल मार्ग, विदेशीले नै बनाई दिनुपर्ने । रेल चीन र अब भारतले बनाइदिने । सुरुङ जापानले खन्दिने, नेपालले चैं क्यै गर्नै नपर्ने । जिम्मेवारी नलिने तर अधिकारचाहिँ चाहिने ।
भक्तिबाट पैसा, पैसाबाट पावर किन्ने मापदण्ड स्थापित छ । अनि बोलीले नै गोली हान्दिने टप्परटुइँयाहरु टपमा पुगेपछि हुन्छ चैं के ? विषयभन्दा व्यक्तिलाई पूजा गर्ने प्रवृत्ति अझ बढ्दै जान्छ । प्रकृतिले त दिएकै थियो नि, पानी, खानी र जवानी । तर, त्यसको उपयोग गर्ने ज्ञानीहरू देशमा नभएकाले पो
समस्या पर्यो । ज्ञानी र ज्ञाता पनि कस्ता ? मदारीले नचाउने बाँदरजस्ता । दलले जसरी मादल बजायो त्यसरी मात्र नाचिदिने । ‘हर शाख पे उल्लू बैठा है, अंजाम ए गुलिस्ताँ क्या होगा ?’ भनेजस्तै ।
यसको अर्थ अव्यवस्थित भएकै कारण देश अविकसित बन्न पुगेको हो । त्यसैले त अचेल सामान र सेवाको गुणस्तरभन्दा विज्ञापन अर्थात् खोल, बोल र बट्टा बढी बिक्छ । उपभोक्ताले पनि सत्यभन्दा उटपट्याङ कुरा बढी सिक्छ । मुख्य कुरा त सबै क्षेत्रमा नेता धेरै आए । तर, देशले सच्चा लिडर पाएन, निडर आएनन् । बरु डिलर र अझ कसैका ल्याडर मात्र आए । यस्तो लाग्छ, उनीहरू स्वचालित छैनन्, सञ्चालित छन् । चर्को बोलेरै धर्को तान्ने धेरै नेता भए । जिम्मेवार नेता पाउला देशले भनेको जमीनदार नेता धेरै छाए ।
तर, जनता मौन छन् भन्दैमा सधैं र सबै मूर्ख छन् भन्न मिल्छ र ?
5 Comments
Ashish Tiwari
अरु त सब ठिक हो तर यो “हुदाहुदै ड्राइभर खलासीले ……….” यो अभिव्यक्ति मन परेन। किन ड्राइभर खलासीले बिरोध गर्न पाउदैन र? के तिनीहरु समाजको तल्लो दर्जा को मानिस हुन र ? पेसाले मानिसको बिचार सानो हुदैन दाजु। म पनि पेसाले खलासी हु । यो ” हुदाहुदै ” भन्ने शब्दको बिरोध गर्दछु ।
शक्ति शेरचन
कस्तो मन भित्र को कुरा गरि दिनु भयो….. धन्यबाद
Gangaram Bohara
यो लेखमा लेखियेका कुरा सबै साचो हो।तर यसलाई नेताले पढे पनि एक कान बाट सुनेर अर्को कान बाट उडाई दिन्छन।देश कसरी बनाउने भन्दा पनि आफ्नो सत्ता र कुर्सी कसरी जोगाउने भन्ने तिर र कमाउने बाटो खोज्छ्न।जब सम्म देशको कानुन बलियो हुदैन तब सम्म देशमा लाल्ची नेताहरुले धमिराले झै भित्र भित्रै खाई सक्ने छन।
chandrash
k garni satee le sarapeko desh vanxan hola jhhai lagna thaleko xa
सूर्य नेपाल
सामन्ती विचारको आलेख ! ज़िम्मेवारी र जवाफदेही नभएको सरकारका खेताला ! वुद्धिजीवीको नाममा चुल्हो पाल्ने धृष्टता ! फगत पेट आफु र आफ्नाको पेरिफेरिमा हातघोएर लागी परेका झोले ! समाजका अंगलाई होच्याएर दम्मताको विस्कुनलाऊनेहरूको कुरा हो मित्र ! ?