काठमाडौं । नेपाल निर्माण व्यवसायी महासङ्घ प्रतिनिधिमण्डल र सार्वजनिक खरीद अनुगमन कार्यालयसचिव मधुप्रसाद रेग्मीबीच बिहीवार व्यवसायीले भोग्दै आएका समस्या र समाधानबारे छलफल भएको छ ।
महासङ्घ अध्यक्ष विष्णुभाइ श्रेष्ठसँगै पूर्वअध्यक्ष तथा सल्लाहकार यक्षध्वज कार्कीलगायतको टोलीले परियोजना निर्माणमा विभिन्न पक्षको संलग्नता हुने गरे पनि कुनै समस्या आएमा एक पक्षीय ढङ्गले व्यवसायीलाई मात्र आक्षेप लगाउने परिपाटी अन्त्य हुनुपर्ने माग गरेको छ ।
निर्माणका क्रममा आ–आफ्नो जिम्मेवारीलाई सबैले पूरा गर्नुपर्ने र सजायको भागीदार पनि हुनुपर्ने माग महासङ्घको छ । सचिव रेग्मीले निर्माण व्यवसायलाई मर्यादित तथा व्यवस्थित बनाउन आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
भेटमा सार्वजनिक खरीद ऐनको पहिलो संशोधन र सार्वजनिक खरीद नियमावलीको चौथो संशोधनले सम्बोधन नगरेका र त्रुटिपूर्ण भएका संशोधन र अव्यावहारिक तथा सार्वजनिक खरीद नै प्रभावित हुने दफा तथा नियम संशोधन गर्ने/गराउने कार्य सम्बोधन गर्ने विषयमा छलफल भएको थियो ।











