सूर्यप्रसाद अधिकारी
चितवन । भरतपुर महानगरको २९ ओटा वडाभित्र रहेका सामुदायिक विद्यालयको लागि यस वर्ष ४६ करोड ३२ लाख रुपैयाँ खर्च भएको छ । चालू आर्थिक वर्षका लागि ५८ करोड ८५ लाख रुपैयाँ माग गरिएता पनि केन्द्रले ५८ करोड २७ लाख रुपैयाँ उपलब्ध गराएको थियो । जसमध्ये ४२ करोड ८८ लाख तलबभत्तामा खर्च भएको छ भने ३ करोड ४४ लाख पाठ्यक्रम, भर्ना एवम् कक्षा सञ्चालनका लागि खर्च भएको महानगरको शैक्षिक प्रशासन महाशाखाका प्रमुख वीरेन्द्रजङ्ग थापाले जानकारी दिए ।
उपलब्ध भएको रकमको २५ प्रतिशत बाँकी रकम विद्यालयको आवश्यकता हेरी पछि वितरण गरिने उनले बताए । विद्यालयका शिक्षकहरूको तलब, निःशुल्क पाठ्यक्रम, भर्ना अभियान, कक्षा सञ्चालनको लागि सशर्त अनुदानस्वरूप विद्यालयमा पठाइसकिएको छ । शिक्षा क्षेत्रमा बढी खर्च हुने भन्दै थापाले महानगरबाट अहिलेसम्म बजेट निकासा नभएको बताए । ‘हामीले केन्द्रबाट आएको सशर्त अनुदान वितरण गरेका छौं,’ उनले भने, ‘यति रकम यहाँको लागि पुग्दैन ।’ महाशाखालाई २३ ओटा शीर्षकअन्र्तगत खर्च गर्नको लागि केन्द्रले सशर्त अनुदान उपलब्ध गराएको हो ।
महानगरमा आधारभूत विद्यालय ७३ ओटा र ५० ओटा माध्यमिक सामुदायिक विद्यालय रहेका छन् । ती विद्यालयहरूका लागि बाल विकास विद्यालयमा २ सय जना शिक्षक, निम्न माध्यमिक विद्यालयमा २ सय ७० जना माध्यमिक विद्यालयमा २ सय २२ र उच्च माध्यमिक विद्यालयमा ५९ जना शिक्षकहरूको दरबन्दी रहेको छ । विद्यालयमा भर्ना भएका कक्षा १ देखि १० सम्म पढ्ने विद्यार्थीको सङ्ख्या ३० हजार २ सय ५९ उच्च माध्यमिक विद्यालयमा पढ्ने ५ हजार ३१ विद्यार्थीहरू रहेको थापाले बताए ।
विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनका लागि विद्यालयको भौतिक संरचना र विद्यार्थीमैत्री वातावरण अपरिहार्य हुने बताउँदै भौतिक पूर्वाधार र विद्यार्थीको क्षमता अभिवृद्धि गर्न थप बजेट आवश्यक रहेको उनको भनाइ छ । यसका लागि स्थानीय सरकारले शिक्षा क्षेत्रको लागि बजेट छुट्याउनु पर्ने उनलेब बताए ।











