विराटनगर (अस) । विवाहको लगनको बेला बजारमा सुनको अभाव भएकाले ग्राहकले चाहिए जति सुन पाउन सकेका छैनन् । नेपाल राष्ट्र बैङ्कले काठमाडौंबाहिरका व्यापारीलाई न्यून परिमाणमा सुनको कोटा छुट्याउने भएकाले ग्राहकले चाहिए जति सुन नपाएका हुन् ।
सुनचाँदी व्यवसायी सङ्घ विराटनगरका महासचिव रामचन्द्र तापडियाका अनुसार सुनको कोटा बढाउन महासङ्घलाई आग्रह गरे पनि राष्ट्र बैङ्कले कोटा नथपेकाले सुनको अभाव भएको हो । झण्डै ५ वर्षदेखि व्यवसायीले सुनको अभाव झेल्दै आइरहेका छन् । पसलेले व्यक्तिगत रूपमा खरीद गरेका पुराना गहना गालेर त्यसैबाट ग्राहकको मागलाई धानिरहेका छन् । व्यवसायीका अनुसार विराटनगरको बजारलाई मात्रै दैनिक २ किलो सुन आवश्यक पर्छ । तर, बैङ्कले महीनामा २ किलो मात्र उपलब्ध गराउँदै आएको छ । व्यवसायी बजारमा काँचो सुन पाउनै छाडेको बताउँछन् । बैङ्कको कोटाबाहेक विदेशबाट आउनेले सुविधामा ल्याउने गरेको ५० ग्राम सुन र पुराना गरगहनाबाटै उपभोक्ताको मागलाई यतिबेला उनीहरूले पूरा गर्दै आएका छन् ।
विवाहको सिजनमा सुनको अभाव



