काठमाडौं (अस) । रोमन म्यागासेसे विजेता महावीर पुनको सक्रियतामा निर्माणाधीन राष्ट्रिय आविष्कार केन्द्रको भवन निर्माणलाई चाहिने जति सिमेण्ट केडिया समूहले दिने भएको छ । बुधवार काठमाडौंमा केडिया समूह र आविष्कार केन्द्रबीच सो विषयमा सम्झौता भएसँगै आविष्कार केन्द्र निर्माणका लागि चाहिने सिमेण्ट सहयोग जुटेको हो । सम्झौतापत्रमा समूहका तर्फबाट उपाध्यक्ष ताराचन्द केडिया र आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले हस्ताक्षर गरेका छन् ।
यसअघि पनि समूहले आविष्कार केन्द्रको जग बसाउन ३ सय बोरा सिमेण्ट दिइसकेको छ । समूहका कार्यकारी निर्देशक मनोज केडियाले आविष्कार केन्द्र देशकै आवश्यकता रहे पनि त्यसको निर्माणमा समस्या आएको भन्दै सिमेण्ट सहयोग गरेको बताए ।
उनले देशका अन्य व्यावसायिक घरानाले पनि आविष्कार केन्द्रलाई सहयोग गरेमा त्यसको निर्माण तथा सञ्चालन गर्न सहज हुने र केन्द्रले राष्ट्रिय आवश्यकतासमेत पूरा गर्ने बताए ।
कार्यक्रममा आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले स्वदेशी आविष्कारकलाई अध्ययन अनुसन्धान गर्ने उचित थलो देशमा नहुँदा आर्थिक विकास हुन नसकेको जिकिर गरे । उनले आविष्कार केन्द्रमा विभिन्न अध्ययनमा संलग्न विद्यार्थी तथा विज्ञलाई ल्याउने र विभिन्न चरणको थप अनुसन्धान गरी स्वदेशी वस्तु उत्पादन गर्ने र सेवाक्षेत्रलाई पनि विस्तार गर्ने गरी तयारी भएको बताए ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा आविष्कार केन्द्र निर्माणाधीन अवस्थामा छ । ६० प्रतिशत निर्माण कार्य सम्पन्न भएको आविष्कार केन्द्रलाई सञ्चालनमा ल्याउन अझै धेरै आर्थिक तथा प्राविधिक सहयोग आवश्यक रहेको बताइएको छ । यसै आविष्कार केन्द्रले दुर्गम जिल्लामा औषधि तथा स्वास्थ्य परीक्षणको नमूना सङ्कलनका लागि उपयोगी हुनेगरी मेडिकल ड्रोनको परीक्षणलाई पनि अन्तिम चरणमा पुर्याएको छ ।



