प्रमुख गतिविधि
कम्पनीले चैत २४ गते वार्षिक साधारणसभा गरेको छ । उसले १ः१ शेयर स्वाप रेशियोमा सिर्जना फाइनान्सलाई प्राप्त गर्ने प्रस्ताव पारित गरेको छ । एकीकृत कारोबारपछि कम्पनीको पूँजी ८९ करोड पुग्नेछ ।
कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षकोे तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७३/७४ र २०७२/७३ बीच तुलना गर्दा :
- यो अवधिमा कम्पनीको खुद नाफामा २३९ प्रतिशत वृद्धि भएकोे छ । उसले यो त्रैमासमा ३ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २ करोड ५० लाख घाटामा थियो ।
- जगेडा कोष ८ करोड ५५ लाख ऋणात्मक छ ।
- यो अवधिमा कम्पनीको पूँजी ३० प्रतिशत वृद्धि भएकोे छ भने प्रतिशेयर आम्दानी १८० प्रतिशत वृद्धि भएको छ । प्रतिशेयर आम्दानी १५ दशमलव १४ रुपैयाँ ऋणात्मकबाट बढेर १२ दशमलव ०९ रुपैयाँ पुगेको छ ।
- त्रैमासमा १८ करोड ७६ लाख निक्षेप उठाएर २५ करोड ३८ लाख कर्जा प्रवाह गर्न सफल भएको छ ।
- निक्षेप ३९१ प्रतिशत वृद्धि भएको छ भने कर्जा प्रवाह पनि ३४ प्रतिशत वृद्धि भएको छ ।
- ऋण तथा निक्षेपमा वृद्धि भएसँगै, कर्जासँग पूँजी र निक्षेपको अनुपात अर्थात् ‘क्रेडिट टु क्यापिटल एण्ड डिपोजिट रेशियो’ ६७ दशमलव ४८ प्रतिशत कायम छ ।
- खुद ब्याज आम्दानी ९ प्रतिशत वृद्धि भएर १ करोड ४८ लाख पुगेको छ । सञ्चालन नाफा ८१ प्रतिशत कमी भएर ११ लाख ९९ हजार ऋणात्मक छ । आम्दानीमा प्रोभिजनको कारण ४९ लाख ५६ हजार घटेको छ । जोखीम कोषबाट ३ करोड ८९ लाख फिर्ता भएको देखिन्छ ।
- निष्क्रिय कर्जा ९३ दशमलव ५३ प्रतिशतबाट घटेर ५८ दशमलव २० प्रतिशतमा आएको छ भने निष्क्रिय कर्जाका लागि १०० दशमलव ७२ प्रतिशत रकम व्यवस्था गरेको छ ।
- कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणअनुसार प्रतिशेयर नेटवर्थ ७१ दशमलव ३७ रुपैयाँ, प्रतिशेयर आम्दानी १२ रुपैयाँ ०९ पैसा, प्रतिशेयर कुल सम्पत्तिको मूल्य १९६ रुपैयाँ ५१ पैसा र तरलता अनुपात १४९ दशमलव ३६ प्रतिशत छ ।
निष्कर्ष :
समस्याग्रस्त अवस्थाबाट बाहिर निस्केर कम्पनी अघि बढेको देखिन्छ । उसले आक्रामक रूपमा निक्षेप सङ्कलन गरेको छ, जुन सकारात्मक पक्षको रूपमा छ । सिर्जना फाइनान्सलाई प्राप्ति गरेपछि कम्पनी बलियो हुँदै जाने देखिन्छ । निष्क्रिय कर्जा घटाउनु भने ठूलो चुनौती रहेको छ ।
प्राविधिक विश्लेषण : बढ्दो प्रवृत्तिमा बेष्ट फाइनान्स
प्रतिरोध २ : २१५ । प्रतिरोध १ : १९७ । हालको अन्तिम मूल्य : १८९ । टेवा १ : १७९ । टेवा २ : १६६
बजारको अवस्था
लामो समयदेखि घट्दो प्रवृत्तिमा रहेको बेष्ट फाइनान्सको शेयरमूल्य केही हप्तायता भने बढ्दो प्रवृत्तिमा छ । तर, बढ्दो क्रम १ सय ३० रुपैयाँमा रोकिएको थियो । कम्पनीको शेयर बिहीवार कारोबार भएन । मङ्गलवार ३ सय २० कित्ता शेयर कारोबार भएको थियो । कम्पनीको शेयरमूल्य भने १ सय २७ रुपैयाँ छ ।
मुभिङ एभरेज
२१ दिने मुभिङ एभरेजअनुसार यस कम्पनीको शेयरमूल्य बढ्दो प्रवृत्तिमा छ । तर, पाँचदिने मुभिङ एभरेज पनि हालको शेयरमूल्यकै सतहमा छ । यसले बजारको प्रवृत्तिबारे केही सङ्केत नगरेको बुझाउँछ ।
एटीआर
एटीआर सूचक घट्दो प्रवृत्तिमा रहेको हुनाले यस फाइनान्सको शेयरमूल्यमा उतारचढाव घट्दै गएको बुझाएको छ ।
स्टोकास्टिक
स्टोकास्टिक सूचक ओभरबट क्षेत्रमा पुगेर घटेको हुनाले क्रेताको उच्च चापपछि विक्रेताको चाप बढेको सङ्केत देखिन्छ ।
ओबीभी
ओबीभी सूचक घट्दो प्रवृत्तिमा रहेको हुनाले बढ्दो शेयरमूल्यलाई कारोबारले साथ दिएको पाइँदैन ।
निष्कर्ष
विभिन्न प्राविधिक सूचकहरूले यस कम्पनीको शेयरमूल्य बढ्दो प्रवृत्तिमा रहेको बुझाए पनि केही दिनयता विक्रेताको चाप बढेको हुनाले तत्काल निर्णय लिनुभन्दा ‘पर्ख र हेर’को रणनीति अनुकूल हुने बुझाएको छ ।