रुकुम (अस) । रुकुम (पश्चिम), रुकुम (पूर्व) र रोल्पा जिल्लामा असिनापानीले खाद्यबालीमा क्षति पुर्याएको छ । भित्र्याउने समयमा परेको असिनापानीले गहुँका साथै अन्य हिउँदे बाली तथा तरकारी खेतीमा क्षति पुर्याएपछि किसान चिन्तित बनेका छन् । प्रमुख खाद्यबाली गहुँमा ठूलो क्षति पुगेपछि खाद्यान्न सङ्कट हुने भन्दै कृषकहरू चिन्तित बनेका हुन् । त्रिवेणी गाउँपालिका–१ का किसान विकल्प ओलीले गहुँजति सबै असिनाले सखाप पारेको बताए । आधा वर्ष दुःख गरेर गहुँ भित्र्याउने समयमा असिनाले क्षति गरेपछि किसानहरू समस्यामा परेको उनको भनाइ छ ।
वडा नं. १० का अध्यक्ष गोप्येश्वर केसीले आफूले क्षतिको विवरण सङ्कलन गरिरहेको जानकारी दिए । उनले भने, ‘पश्चिम रुकुमका अधिकांश स्थानमा, पूर्वी रुकुम र रोल्पाका उत्तरी भेगमा समेत असिनाले ठूलो क्षति पुर्याएको छ ।’ बिहीवार राति भारी मात्रामा परेको असिनापानीले गहुँसहित अन्य हिउँदे बाली तथा तरकारी खेतीमा समेत ठूलो क्षति पुगेको जिल्ला कृषि विकास कार्यालय रुकुम (पश्चिम)ले जानकारी दिएको छ । असिनापानीले कति क्षति गर्यो, त्यसको विवरण सङ्कलन भइहेको जिल्ला कृषि विकास कार्यालयका निमित्त प्रमुख राजेश शाहले बताए ।




