Latest posts by सम्झना शर्मा (see all)
भैरहवा । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीलाई विश्वकै आकर्षक एवम् पवित्र पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने बताएका छन् । २५६२औं बुद्धजयन्ती तथा लुम्बिनी दिवस २०७५ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लुम्बिनीलाई शास्त्रहरूमा वर्णन गरिएभन्दा पनि बढी सुगन्धित, पवित्र बगैंचाका रूपमा विकास गर्ने गरी सरकार लागिपरेको बताएका छन् ।
लुम्बिनीलाई विश्वकै धार्मिक पर्यटकहरूका लागि हेर्दा, सुन्दा, भन्दा एवम् अनुभूति गर्दासमेत पवित्र स्थानको आभाष दिने गरी विकास गरिने उल्लेख गरे । बुद्धका वाणीहरू जहिले पनि सत्यको पक्षमा रहेको उल्लेख गर्दै इतिहासमा र आज पनि सत्यको पक्षमा उभिनेप्रति उनले आभार व्यक्त गरे ।
सभालाई सम्बोधन गर्दै प्रदेश नम्बर ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले लुम्बिनीलाई स्थानीय जनतासँग जोड्न नसकिएकोमा दुःख व्यक्त गरे । उनले अहिलेसम्म लुम्बिनी र स्थानीयबीच समन्वय गर्न नसकिएकै कारण लुम्बिनीको आशातीत विकास हुन नसकेको तर्क गरेका छन् । उनले अबका दिनमा स्थानीयलाई लुम्बिनीको विकासमा कसरी जोड्न सकिन्छ भनी रणनीति नै बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीकोे अध्यक्षतामा भएको समारोहमा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले उपस्थित स्वदेशी तथा विदेशी अतिथि र सहभागीलाई लुम्बिनी र अन्तराष्ट्रिय बौद्ध सम्मेलनले पारित गरेको १० बुँदे लुम्बिनी घोषणापत्रका विषयमा जानकारी गराएका थिए ।
अन्तरराष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभाहलको शिलान्यास
लुम्बिनीमा ५ हजार जना अटाउन सक्ने क्षमताको सेमिनार हल बनाउने घोषणा गरेअनुसार सोमवार बुद्धजयन्तीका अवसरमा लुम्बिनी अन्तरराष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभाहलको शिलान्यास भएको छ । कुल ५ हजार मानिस अटाउन सक्ने क्षमताको सभाहल प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्ने भनिए पनि अन्ततः राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् ।
लुम्बिनीमा हुने बौद्धजयन्ती समारोह तथा अन्य थुप्रै अध्यात्मिक तथा धार्मिक कार्यक्रम एवम् सभासम्मेलन आयोजना गर्न भवन अभावका कारण कोषले निकै समस्या बेहोर्नु परेकाले देशकै ठूलो र अत्याधुनिक ध्यान केन्द्रसहितको सभाहलको निर्माण गर्न थालिएको हो । करीब ३२ करोडको लागतमा बन्ने यो सभाहल २ वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले २२ महीनामा सम्पन्न गर्ने बताए ।
नेपाल सरकार र लुम्बिनी विकास कोषको लगानी रहेको यस सभाहल निर्माण सम्पन्न गर्न ३१ करोड खर्च हुने लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले बताए । भवनको लागत ४१ करोड भए तापनि टेण्डर प्रक्रियामा जाँदा ३१ करोडमा निर्माण सम्पन्न गर्ने गरी २०७३ चैत ६ गते सम्झौता भएको छ । साउथ एशियाको ठूलो हलका रूपमा हेरिएको अन्तरराष्ट्रिय बौद्ध ध्यानकेन्द्र तथा सभाहल चीनको प्राचीन यिन यान शैलीमा निर्माण गरिने लुम्बिनी विकास कोषले जनाएको छ । २ सय वाई १ सय ८० मिटर क्षेत्रफलमा फैलिएको जग्गामा निर्माण हुन लागेको भवन मात्रै १ सय वाई १ सय मिटर क्षेत्रफलमा फैलिएको छ । सभाहलको भित्री भागमा कुनै पिल्लर नहुने बताइएको छ ।
बौद्ध धर्मग्रन्थअनुसार लुम्बिनीमा जन्मिएको बुद्धलाई अर्को दिन तिलौराकोट दरबार लगिएको थियो । सोही परम्परालाई कायम राख्दै लुम्बिनी विकास कोषले सोमवार विभिन्न तामझामका साथ २५६२औं बुद्धजयन्ती मनाएको थियो । मङ्गलवार लिटिल बुद्धलाई सम्झाएर लुम्बिनीबाट कपिलवस्तुको तिलौराकोट दरबारमा विभिन्न झाँकीका साथ भिœयाएर बुद्धजयन्तीको समापन गरिने लुम्बिनी विकास कोषले बताएको छ ।
विगतका वर्षहरूमा ५० देखि ७० लाखसम्मको खर्चमा हुने बुद्धजयन्ती यस वर्ष साढे ६ करोड रुपैयाँ खर्च भएको छ । ३ हजार क्षमताको अस्थायी सभाहल निर्माण गर्न कोषले ४ करोड रुपैयाँ खर्च गरेको छ भने अन्य खर्च २ करोड ५० लाख भएको छ ।




