नयाँ दिल्ली (भारत) । भारतको कारखाना गतिविधि बढेको छ । नयाँ अर्डरमा भएको वृद्धि र उच्च उत्पादनका कारण अप्रिलमा भारतको म्यानुफ्याक्चरिङ गतिविधिले टेवा पाएको हो । निक्केईले गरेको सर्वेक्षणअनुसार गत महीना भारतको म्यानुफ्याक्चरिङ क्षेत्रको पर्चेजिङ म्यानेजर्स इण्डेक्स (पीएमआई) ५१ दशमलव ६ अङ्क रहेको छ । यो मार्चको तुलनामा निकै बढी हो । अघिल्लो महीना भने यो सूचक ५१ दशमलव ६ अङ्क थियो । ‘सन् २०१८ को पहिलो त्रैमासमा भारतको म्यानुफ्याक्चरिङ अर्थतन्त्रले सबल शुरुआत गरेको छ, मार्चमा ५ महीनाकै न्यून रहेको कारखाना गतिविधि सुदृढ मागका कारण अप्रिलमा भने बढेको छ,’ आईएसएस मार्किटकी अर्थशास्त्री आश्ना डोढियाले भनिन् । सर्वेक्षणअनुसार मागको अवस्थामा आएको सुधार र बढ्दो उत्पादनका कारण गत महीना रोजगारी सृजनामा समेत झीनो वृद्धि भएको छ । माग थप सुध्रने अपेक्षामा व्यावसायिक मनोबल सन् २०१७ को जुलाईमा वस्तु तथा सेवा कर (जीएसटी) लागू भएयताकै सुदृढ स्तरमा रहेको छ । आगामी १२ महीनामा नयाँ व्यवसाय र मागको अवस्था दुवै सुध्रने सर्वेक्षणले देखाएको छ । एजेन्सी
भारतको म्यानुफ्याक्चरिङ उत्पादनमा वृद्धि




