लण्डन (बेलायत) । अन्तरराष्ट्रिय बजारमा बिहीवार कच्चा तेलको भाउ बढेको छ । प्रमुख तेल निर्यातकर्तामध्ये एक इरानले पुनः अमेरिकी प्रतिबन्ध खेप्ने र बजारमा आपूर्ति घट्ने चिन्ताले तेलको भाउ बढेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको परमाणु सम्झौताबाट हात झिकेर इरानमाथि पुनः प्रतिबन्ध लगाउने योजना बनाइरहेका छन् । बिहीवार लण्डनस्थित आईसीईको कोमेक्स डिभिजनमा ब्रेण्ट क्रुड फ्युचर्सको भाउ ७८ डलरनजीक पुगेको थियो । यो समाचार तयार पार्दासम्म नेपाली समयअनुसार साँझ ६ः१० बजे ब्रेण्ट क्रुड प्रतिब्यारेल शून्य दशमलव १५ प्रतिशत बढेर ७७ डलर ९३ सेण्टमा पुगेको थियो ।
न्यूयोर्क मर्कण्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा वेष्ट टेक्सास इण्टरमिडियट (डब्लयूटीआई)को भाउ प्रतिब्यारेल ४२ सेण्ट बढेर ७१ डलर ५६ सेण्टमा पुगेको थियो । यो समाचार तयार पार्दासम्म डब्ल्यूटीआईको भाउ प्रतिब्यारेल शून्य दशमलव ३१ प्रतिशत बढेर ७१ डलर ४६ सेण्टमा पुगेको थियो । हालैका दिनमा कच्चा तेलको भाउ सन् २०१४ को अन्त्ययताकै उच्च विन्दुमा पुगेको छ । यो हप्तामात्रै तेलको भाउ करीब ४ प्रतिशत बढ्ने क्रममा छ । यो त्रैमासमा पनि कच्चा तेलको भाउ बढ्यो भने यो लगातार चौथो त्रैमासिक वृद्धि हुनेछ । यो १० वर्षयताकै लामो वृद्धि हुनेछ ।
इरानमाथि प्रतिबन्ध लगाउने अमेरिकी योजनाकोे विरोध पनि भइरहेको छ । तर, विरोधले अमेरिकी कदम रोकिनेमा विश्लेषकहरूले खासै आश गरेका छैनन् । ‘यूरोप र चीन अमेरिकी प्रतिबन्धविरुद्ध लड्ने छैनन्, तिनीहरूले यसलाई स्वीकार गर्नेछन्, अमेरिकाको सट्टा इरानलाई रोज्ने वास्तवमा कोही पनि हुने छैन,’ ऊर्जा परामर्शदाता कम्पनी एफजीईले एक नोटमा भनेको छ । प्रतिबन्धसँगै यसअघि इरानमाथि लगाइएको दैनिक १० लाख ब्यारेल तेल निर्यातको सीमा पुनः लागू हुने एफजीईका संस्थापक तथा अध्यक्ष फेरेडन फेशाराकीले भनेका छन् । इरानी आपूर्तिमा अवरोध नआउँदै उत्पादन कटौती सम्झौताका कारण एशियामा तेलको आपूर्ति बिस्तारै घट्दै गइरहेको छ । एजेन्सी











