पाल्पा (अस) । पाल्पाको रानीमहल दरबारक्षेत्रमा पक्की पुल निर्माणलाई तीव्रता दिइएको छ । हाल पाल्पाको सदरमुकाम तानसेन भएर रानीमहल दरबारमा पुग्न सकिन्छ । रानीमहल दरबारक्षेत्रको कालीगण्डकी नदीमा पक्की पुल निर्माणसँगै पाल्पा र स्याङ्जाको बाटो भएर पर्यटक आउन सक्नेछन् ।
रानीमहल पुग्न सहजताका लागि सडक पिचसँगै पुल निर्माण थालिएको थियो । २०७१ असारमा सम्झौता भई २०७५ असारभित्र निर्माण पूरा गर्ने गरी १९ करोड रुपैयाँमा ठेक्का सम्झौता भएकोमा हालसम्म पुलको ६० प्रतिशत काम सकिएको छ । १० मिटर चौडाइ भएको ४५ मिटरका ४ ओटा स्पेनसहित १ सय ८० मिटर लम्बाइको प्रिस्टे«स प्रविधिको पुल निर्माण हुने पुल योजना पश्चिम सेक्टर क्षेत्र नं. ४ का डिभिजन प्रमुख कृष्णप्रसाद भण्डारीले बताए । पुलको ठेक्का रू. १९ करोडमा सम्झौता गरिएको छ ।




