काठमाडौं (अस) । नेपाल पश्मिना उद्योग सङ्घले काठमाडौंको जोरपाटीमा पश्मिना डिजाइनिङ तथा रङ समायोजनसम्बन्धी तालीम शुरू गरेको छ । सङ्घले उद्योग तथा वाणिज्य मन्त्रालय र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा १५ दिने पश्मिना डिजाइनिङ तालीम दिन शुरू गरेको हो । तालीम जेठ १ गतेदेखि १५ गतेसम्म चल्नेछ ।
गोकर्णेश्वर नगरपालिका–६, शङ्करचोकका २५ महिला तथा पुरुष सहभागी रहेको तालीमले पश्मिना व्यवसाय गर्न खोज्नेलाई बजारले माग गर्ने डिजाइन तयार गर्न, रङ समायोजन गर्न र अन्य पक्षबारे सचेत रहन ज्ञान तथा सीप दिने ठानिएको छ ।
उद्योगसचिव यामकुमारी खतिवडाले सरकारले स्वदेशी वस्तु उत्पादन तथा निर्यातलाई प्राथमिकतामा राखेकाले व्यवसाय विकास गर्न तालीम फलदायी हुने बताइन् । सङ्घका सचिव धनप्रसाद लामिछानेले आकर्षक डिजाइन र रङको सम्मिश्रण बनाउन सके पश्मिनाले सहजै बजार लिने बताए । सङ्घले सिक्ने/सिकाउने क्रममा तयार गरिएका पश्मिनाका विभिन्न डिजाइनलाई फेशन शो आयोजना गरी प्रदर्शनसमेत गर्ने बताएको छ । सङ्घले पश्मिनाको डिजाइन र रङ छनोट तथा मिश्रण तयार गर्ने तालीम सबै प्रदेशमा गर्ने बताएको छ ।










